स्वास्थ्य | प्रदेश |

संक्रमित एक पुरुषको भेरी अस्पतालमा मृत्यु

सिराज खान
नेपालगञ्ज, माघ १७ गते । खोप नलगाएका कारण कोरोना संक्रमितबाट गम्भीर भएपछि यहाँस्थित भेरी अस्पतालमा उपचार गराई रहनुभएका रुकुम पश्चिमका एक पुरुषको कोभिडबाट मृत्यु भएको छ । आठविसकोट नगरपालिका ६ रुकुम पश्चिमका ६५ बर्षीय पुरुषको सोमवार विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँकाअनुसार माघ १५ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएका ती पुरुषलाई १६ गते कोभिड वार्डमा भर्ना गरिएको थियो । कोभिडविरुद्धको कुनै पनि खोप नलगाएका कारण उहाँको अवस्था गम्भीर भएको अस्पतालको भनाई छ । स्वास्थ्यमा सुधार नआएपछि मृत्युभएको चिकित्सकले जनाएको फोकल पर्सन ओलीले बताउनुभयो ।

पछिल्लो समय सिकिस्त हुने तथा मृत्यु हुनेमा अधिकांश कोरोनाको कुनैपनि खोप नलगाएका संक्रमितहरु बढी रहेको उहाँले बताउनुभयो । सोही कारण सबैलाई कोरोनाका खोपहरु लगाउन पटक पटक आग्रह गर्दैआएको पनि ओलीले बताउनुभयो ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेकाअनुसार अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका स्थानीय वासिन्दामध्ये ३४६ जनाको कोभिडबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।