तनहुँमा बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा लगाउन सुरु
अमरराज नहर्की
तनहुँ, माघ १८ गते । तनहुँका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो चरणको मोडर्ना खोप लगाउन सुरु भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालकालिकालाई सोमबारबाट मोडर्ना खोपको दोस्रो मात्र लगाउन सुरु गरिएको हो ।
खोप लगाउनको लागि जिल्लाका १० वटै स्थानीय तहमा सोमबारदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो डोज लगाउन सोमबारदेखि पाँच दिन विद्यालय खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । विद्यालयमा भौतिक उपस्थितिमा विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार ४०१ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ । छुटको समेतका गरी करिब ३५ हजार बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
दोस्रो डोज लगाउने बालबालिकाहरुले पहिलो डोज लगाएको कार्ड अनिवार्य रुपमा लैजानुपर्ने र पहिलो मात्रा खोप लगाउन आउने बालबालिकाले अनिवार्य रुपमा उमेर खुल्ने परिचयपत्र ल्याउनुपर्ने साथै खोप लगाउने समयमा अभिभावक तथा शिक्षक अनिवार्य रुपमा उपस्थित भइदिनुपर्ने शाखाले जनाएको छ । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।