स्वास्थ्य | प्रदेश |

बाँकेमा बालबालिकालाई खोप लगाउन शुरु

सिराज खान
नेपालगञ्ज, माघ १९ गते । बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो ।

सो खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गर्नुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउन सुरु गरिएको बाँकेका कोरोना खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले तोकेका खोप केन्द्रहरुमा खोप लगाउन सुरु गरिएको जनाउँदै उहाँले जिल्लाका सो उमेर समूहका ६९ हजार बालबालिकालाई खोप लगाइने बताउनुभयो ।

बालबालिका लाई तोकिएको विद्यालय तथा खोप केन्द्रमा लगेर गई बुधवार र बिहीबार खोप लगाउन आग्रह गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो । बाहिरी जिल्लामा अध्ययन गर्ने तर विद्यालय बन्द रहेका कारण बाँके जिल्लामै रहेका र विद्यालय नजाने बालबालिकालाई उमेर खुल्ने जन्मदर्ता वा अन्य कागजातका आधारमा पनि खोप लगाइने बताइएको छ । पायक पर्ने नजिकको विद्यालय वा खोप केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय बाँकेले विद्यार्थीमा आग्रह गरेको छ ।