स्वास्थ्य |

कालीकोटको दुर्गम क्षेत्रका बालबालिकालाई कोरोना खोप

प्रेमराज सिम्खडा
कालीकोट, माघ २० गते । कालीकोट जिल्लाको पलाँता गाउँपालिका बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन । माघ १६ गतेदेखि १८ गतेसम्म कोरोनाविरुद्धको खोप अभियानमा पलाँता गाउँपालिकाभित्रका बालबालिकाले कोरोनाविरुद्धको पहिलो मात्रा मोर्डना खोप लगाएका हुन् ।

पलाँता भौगोलिक हिसाबले निकै दुर्गम मानिन्छ । स्थानीय सरकार गठनपछि भने दुर्गमको उपाधिबाट पलाँतापछि हटेको छ र यहाँँ अहिले सडक, बत्ती, खानेपानीको व्यवस्थापन हुँदै गरेको छ । कोरोनाविरुद्धको खोप लगाएर फर्किदै गरेका पलाँता १ पुलाहका राजेश भण्डारीले खुसि हुँदै हामीले खोप लगाएर आएको सुनाए । राजेशको भनाइसँगै रहेका रंग सार्की लगाएत ६ जना सहमत हुँदै पहिलो मात्र खोप पाएको भन्दै खोप कार्ड देखाएका थिए ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटले पहिलो चरणमा सबै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सूचना गरेको थियो । सबै स्थानीय तहमा खोप पुगाएर सहज वनाएको स्वास्थ्य सेवा कार्यालयले जति सक्दो सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन निर्देशन पनि गरेको थियो । उसोत स्थानीय सरकार पनि खोप प्रति सचेत थिए । कोरोनाका कारणले विद्यालय बन्द हुँदा शैक्षिक वर्ष नै कमजोर हुने भएकाले विद्यालय उमेरका बालबालिकाहरु खोप लगाएर बिद्यालय खोल्ने मनसाय स्थानीय सरकारको छ ।

पलाँता गाउँपालिका अध्यक्ष लक्षमणबहादुर बमले आफू विद्यालय बन्द गर्ने मनस्थितिमा नभए पनि माथिल्लो निकायको आदेशलाई कार्यन्वयन गरेको बताउनुभयो । सिसिएमसीको निर्णय अनुसार पलाँताका विद्यालय बन्द गरेको अध्यक्ष बमको भनाई छ । पहिलो मात्र लगाएकालाई दोस्रो मात्रा र बाँकी १२ वर्षमाथिकालाई पहिलो मात्रा खोप दिइएको छ । यसभन्दा अगाडि खोप लगाउन खासै चासो नदिएका पालाँता गाउँपालिका र रास्कोट नगरपालिकामा खोप लगाउनेको उत्साहजनक सहभागिता पाइएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकवहादुर महतले रास्कोटमा १२ वर्षमाथिका बालबालिकाको उत्साह जनक सहभागिता रहेको बताउनुभयो । रास्कोटमा मात्र यो अवधिमा दुई हजार ३२३ जनाले पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा लगाउने बालबालिकाको सङ्ख्या एक हजार ८७७ पुगेको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका कोरोना फोकल व्यक्ति जनस्वास्थ्य अधिकृत गौराकुमारी घर्तिमगरले जिल्ला भर मोर्डना खोप लगाउने बालबालिकाको सङ्ख्या २० हजार ९९७ जना र दोस्रो मात्रा लगाउनेको सङ्ख्या १२ हजार ६०६ जना रहेको जानकारी दिनुभयो । हालसम्म सबै उमेरका पहिलो खोप लगाउने सङ्ख्या ८२ हजार, ६६८ जनाले पहिलो मात्रा, ५७ हजार २६३ जनाले दोस्रो मात्रा र ८९८ जनाले बुस्टर डोज लगाएका छन् ।