स्वास्थ्य | प्रदेश |

तेस्रो भेरियन्टका छैनन् जुम्लामा गम्भीर बिरामी

नेत्र शाही
जुम्ला, माघ २० गते । तेस्रो भेरियन्टको कोरोनामा खासै गम्भीर प्रकारका बिरामी यहाँ नदेखिएको अस्पतालको भनाइ छ । दोस्रो चरणको कोरोना लहरमा जसरी मान्छेको ज्यान गुमाउनुपर्ने अवस्था थियो, त्यस्तो गम्भीर प्रकारका बिरामी अहिले नभएको स्वास्थ्यकर्मीहरुले बताउनुभएको छ ।

यस पटक धेरै बिरामी होम आइसोलेशनमै बसेको, थोरै मात्र अस्पतालमा भर्ना भएको अस्पतालका चिकित्सकले बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आइसोलेशन विभाग प्रमुख सृजना महतका अनुसार यसपटक अस्पतालमा भर्ना भएका बिमीहरु खासै गम्भीर प्रकारका आएका छैनन् । निकै सिरियस बिरामी मात्रै अस्पताल आउने भएकाले खासै धेरै बिरामी अस्पतालमा भर्ना नभएको उहाँको भनाइ छ । उहाँका अनुसार समुदायमा कोरोना व्यापक रुपमा फैलिएको खबर आए पनि अस्पतालमा बिरामी भर्ना भएका छैनन् ।

यस पटक परीक्षण पनि कम भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार मङ्गलवारसम्म जुम्लामा १३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये तीन जना अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन् । मंंगरवारसम्म गरिएको परीक्षणमा एन्टिजन परीक्षण गर्दा थप ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये ३८ जना सन्चो भएर घर फर्केको उहाँले बताउनुभयो ।

स्थानीय प्रशासनले पछिल्लो पटक सूचना प्रणालीलाई प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार सामाजिक सञ्जाल पेजमार्फत दैनिक काेरोनाको अवस्था अपडेट गरिएको छ । यो पटकको भेरियन्टमा समुदायमा कोरोना भए पनि खासै कठिन अवस्थाका बिरामी आएका छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई भने केही असर भई उपचार गर्न आउनेगरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरुले पछिल्लो समय खोप अभियानलाई तीव्र पार्नुका साथै कोरोना परीक्षण गर्ने शङ्कास्पद व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजेन परीक्षण तथा मास्क वितरण गरिरहेको छ । पछिल्लो समय १२ देखि १७ वर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान शुरु भएको बताइएको छ । प्रतिष्ठानका अनुसार कोरोना दोस्रो भेरियन्टका कारण २७ जनाको मृत्यु भएको थियो ।