स्वास्थ्य | प्रदेश |

कपिलवस्तु नगरपालिकामा आईसियु र भेन्टीलेटरसहितको एम्बुलेन्स

नारद कोहार
तौलिहवा, माघ २० गते । कपिलवस्तुको कपिलबस्तु नगरपालिकाले कोरोनाको तेस्रो लहर तीब्र रुपमा फैलिरहेका बेला आईसियु र भेन्टीलेटरसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जटिलखालको बिरामीलाई लक्षित गरी नगरपालिकाले फोर्स कम्पनीको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो । कपिलवस्तु नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने प्रक्रिया गत जेठमा नै अघि बढाएको थियो ।

कपिलवस्तु नगरपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको क्षेत्रमा विषेश सेवा दिने उद्देश्यले आईसियु र भेन्टीलेटर सहितको एम्बुलेन्स खरिद गरिएको नगरप्रमुख किरण सिंहले बताउनुभयो । कोराेना र बिभिन्न प्रक्रिया नमिल्दा एम्बुलेन्स खरिद गर्न ढिलाई भएको उहाँको भनाइ छ ।

काठमाडौंको प्राइम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुँदै एम्बुलेन्स नगरपालिकामा पठाएको हो । एम्बुलेन्सको लागत ७३ लाख रुपियाँ हाराहारीमा रहेको खरिद समितिका सदस्य तथा नगरपालिकाका इन्जीनीयर राजेश सैनीले बताउनुभयो । एम्बुलेन्समा आईसियु, भेन्टीलेटरसहित जटिलखालका बिरामीलाई भित्रै उपचार गर्न मिल्ने सेवा उपलब्ध रहेको इन्जीनियर सैनीले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्समा जीपिएस सिस्टम छ ।

जिल्लामै पहिलो पटक भेन्टीलेटरसहितको एम्बुलेन्स आएपछि नगरबासी खुशी भएको खरिद समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले बताउनुभयो । यसअघि बुटवलको लुम्बिनी प्रदेश अस्पताल र बाँकेको भेरी अस्पतालमा मात्र यस्तोखाले एम्बुलेन्स रहेको उहाँले बताउनुभयो ।