बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
सिराज खान
नेपालगञ्ज, माघ २२ गते । कोरोनाविरुद्धको खोप लगाउने कार्यमा सबैभन्दा पछाडि देखिएको बाँकेको नरैनापुर गाउँपालिकाका एक संक्रमितको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार नरैनापुर गाउँपालिका २ का ५० बर्षीय पुरुषको शनिवार विहान साढे ८ बजे मृत्यु भएको हो । मृतकले कोरोनाको कुनै पनि खोप नलाएको पाइएको पनि ओलीले बताउनुभयो ।
माघ १० गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको उहाँको स्वास्थ्य असमान्य बन्दैजाँदा ११ गते उहाँलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचार जारी रहँदा रहँदै पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार नआएपछि शनिवार विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
समितीकाअनुसार अहिलेसम्म बाँकेमा ३४९ जनाको कोभिडबाट मृत्यु भएको छ । उपचाररत बाहिरी जिल्लाबाट आएका ४४२ जना कोरोना संक्रमितको मृत्यु भएको पनि अस्पतालले जनाएको छ ।
पछिल्लो समय मृत्यु हुनेहरुमा अधिकांश खोप नलगाएकाहरु नै रहेकाले सबैलाई खोप लगाउन जिल्ला कोभिड व्यवस्थापन समितिले आग्रह गरेको छ ।