ढल्केबरमा सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनको तयारीमा
विजयकुमार साह
ढल्केबर, माघ २४ गते । धनुषाको ढल्केबरमा सुविधा सम्पन्न आँखा अस्पताल आगामी फागुन महिनाबाट सञ्चालन हुने भएको छ । बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले ढल्केवरमा भवन निर्माण गरेर सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालन गर्न लागेको हो ।
भवन निर्माण कार्य सम्पन्न भएको छ । आँखा उपचारका लागि चाँहिने उपकरण र कर्मचारी व्यवस्थापनको कार्य भइरहेको रेयुकाई एइको मसुनागा आँखा अस्पतालका महासविच हिरामणी शर्माले बताउनुभयो । उपकरण र कर्मचारी व्यवस्थापन गरेर फागुन २५ गतेदेखि अस्पताल सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।
ढल्केबरका स्थानीय समाजसेवी राजाराम महतोले दान गर्नुभएको छ कठ्ठा जग्गामा तीन तले अपाङ्गता तथा बालमैत्री भवन निर्माण भएको छ । उपकरण व्यवस्थापनमा पनि लगभग दुई करोड रुपियाँ खर्च हुने महासविच शर्माले भन्नुभयो ।
तराईवासीलाई सहज आँखाको उपचार प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागेको यस अस्पतालमा नेत्ररोग विशेषज्ञ टोली रहने र आँखाका सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । अस्पताल सञ्चालनमा आएपछि नेपाली र भारतीय नागरिकलाई पनि सुविधा पुग्छ ।
अस्पतालको तीन वर्ष अघि डोली इन्टर्मड इन्टरनेशनल न्युयोर्कका अध्यक्ष स्कट र्यामिलटनले शिलान्यास गर्नुभएको थियो । शिलान्यfस गरेकै दिन बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले ढल्केबरमा शाखाको रुपमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।
ढल्केबरस्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालले मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिका बेला–बेलामा निःशुल्क आँखा शिविर सञ्चालन गरेर एक हजार दुई सय जनाको उपचार गरेको छ । त्यस्तै सो अस्पतालले चार सय जना मोतिबिन्दुका निःशुल्क शल्यक्रिया गरेको छ ।