नेपालगञ्जका थप एक संक्रमितको मृत्यु
सिराज खान
नेपालगञ्ज, माघ २९ गते । कोरोना संक्रमणबाट यहाँस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा रहनुभएका नेपालगञ्ज उपमहानगरपालिका ९ निवासी ८४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन समिति बाँकेले जनाएको छ ।
जिल्ला कोभिड ब्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले माघ १८ गते भेरी अस्पतालमा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएका ती बृद्धलाई १९ गते भेरी अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो ।
उपचार जारी रहँदा रहँदै उहाँको स्वास्थ्यमा सुधार नआएपछि गए राती साढे १० बजेतिर मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिनुभयो । मृतक बृद्धले कोभिड खोपको दुबै मात्रा खोप पनि लगाएको उहाँले बताउनुभयो । यो सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४४४ जनाको मृत्यु भएको छ ।