क्यान्सर रोगीका लागि नेपालमै उत्पादित औषधि बजारमा
सरोज ढुंगेल
काठमाडौं, फागुन ६ गते । क्यान्सर रोगका बिरामीहरुले नेपालमै उत्पादित् औषधि प्रयोग गर्न पाउने भएका छन् । नेपालमै पहिलो पटक उत्पादन भएको क्यान्सर रोगबिरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आउन सुरुभएपछि विरामीहरुले प्रयोग गर्न पाउने भएका हुन् ।
यसअघि क्यान्सर रोगका बिरामीहरु विदेशबाट नेपालमा क्यान्सरविरुद्धको औषधी ल्याएर खरिद गर्दा महंगोमा किनेर उपचार गर्न बाध्य थिए । नेपालमै टिजिग फार्मा प्रालिले क्यान्सर रोगविरुद्ध मात्र प्रयोग हुने औषधी उत्पादन गरेर बजारमा पठाउन शुरु गरेको छ । क्यान्सर रोगका औषधि बजारमा आउन थालेपछि नेपालमा उपचार गराइरहेका क्यान्सरका बिरामीलाई राहत मिल्ने चिकित्सकको भनाई छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमै क्यान्सर रोगको औषधी उत्पादन हुनु क्यान्सर रोगी र समग्र नेपालका लागि ठूलो उपलब्धी भएको बताउनुभयो । नेपालमै औषधी उत्पादन हुन थालेपछि क्यान्सर रोगीले सर्वसुलभ रुपियाँमा औषधी पाउने उहाँले बताउनुभयो । डा. शाहीले एउटा कम्पनीले मात्र क्यान्सरको औषधी उत्पादन गरेर नपुग्ने भन्दै अरु कम्पनीहरुले पनि सुरुवात गर्नुपर्ने बताउनुभयो ।
टिजिग फर्माले उत्पादन गरेका औषधी औषधी व्यवस्था विभागबाट बजारमा जानका लागि लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको हो । यो संगै टिजिग फार्मा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।
टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपालभित्रै बिक्री बितरण गर्न विभागबाट चारवटा मोलिक्युलको बजार लाइसेन्स प्राप्त भइसकेको जानकारी दिदै कम्पनीले १६ किसिमका औषधी उत्पादन गरेको बताउनुभयो । बाँकी औषधीको व्यवस्था विभागबाट लाइसेन्स प्राप्त भएपछि बजारमा आउने उहाँको भनाई छ ।
निर्देशक वैद्यले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृतिपत्र प्राप्त भएको जानकारी गराउनुभयो । आफ्नो कम्पनी क्यान्सर रोगबिरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको उहाँको दावी छ ।
‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्टाण्डर्ड र नेपालको प्रविधि हस्तान्तरण सम्वन्धि ऐनअनुसार नै सञ्चालनमा ल्याएका हौँ,’ कार्यकारी निर्देशक वैद्यले भन्नुभयो ‘संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधी ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ ।”
टिजिगले अहिले औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ । कम्पनीले हाल खान मिल्ने औषधि अर्थात ट्यावलेट र क्याप्सुल बजारमा पठाएको छ । कम्पनीले क्यान्सरविरुद्धको इन्जेक्सन समेत उत्पादन गर्ने तयारीमा रहेको जनाएको छ ।
टिजिग फार्माबाट उत्पादन हुने एन्टिक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा सस्तो छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको बताउनुभयो । स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भर हुनुपर्छ भन्ने नीतिमा इट्टा थपेको उहाँको भनाई छ ।
औषधि व्यवस्था विभागका बरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले नेपालमै क्यान्सर रोगविरुद्ध औषधि बन्नु ठूलो उपलब्धी भएको बताउनुभयो । तर औषधिको गुणस्तरमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।