अफ्रिकामा फैलिएको लासा भाइरसको नेपालमा जोखिम, सजगता जरुरी
सिर्जना खत्री, दृश्यमा मनोजरत्न शाही
काठमाडौं,फागुन ९ गते । विश्वलाई करीब साढेदुई वर्षदेखि कोरोना भाइरसको प्रकोपले त्रासित बनाएको छ । यो भाइरस कहिलेसम्म रहन्छ भन्ने विषयमा विश्वका वैज्ञानिककालागि चिन्ताको विषय बनेको छ । यो भाइरस मत्थर हुन नपाउँदै हालै बेलायतमा अर्का भाइरस (लासा भाइरस) देखापरेको छ । पश्चिम अफ्रिकाबाट फर्केका एकै परिवारका तीन जनामा लासा भाइरस पुष्टि भएको हो ।
ती मध्ये एकको मृत्यु भइसकेको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ । लासा भाइरस नाइजेरियामा फैलँदा अस्पतालका स्वास्थ्यकर्मीनै संक्रमित भएका थिए जसमा ५० प्रतिशत चिकित्सक र ३८ प्रतिशत नर्र्सहरू थिए ।
समग्रमा मृत्युदर कम अर्थात १ प्रतिशत हुने भए तापनि अस्पताल भर्ना भएका मध्ये १५ प्रतिशतसम्मको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँदछ ।
लासा भाइरस कस्तो भाइरस हो ?
यो रोगका बिरामी १९६९ मा पश्चिमी अफ्रिकी देश नाइजेरियाको लासा भन्ने ठाउँमा पहिलोपटक फेला पारिएका थिए । यो भाइरसले दुई नर्सको ज्यान लिएपछि पहिचान गरिएको थियो ।
लासा भाइरस पश्चिम अफ्रिकी देशहरू जस्तै नाइजेरिया, घाना, सियारा–लियोन, लाइबेरिया जस्ता देशहरूमा वर्सेनि जस्तो देखिने गरेको छ । यो भाइरस रक्तश्राव गराउने भाइरस हो ।
यो भाइरस विशेषतः संक्रमित मुसाको दिसा–पिसाबको माध्यमबाट मानिसमा सर्ने सरुवा रोग भएको विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिनुभयो ।
लासा भाइरसका लक्षणहरु अरु विभिन्न सरुवा रोगसँग मिल्दोजुल्दो हुने भएकोले प्रगोगशालामा निदान हुने डा. पुन बताउनुहुन्छ ।
डा. पुनका अनुसार लासा भाइरसको संक्रमणमा एकदेखि तीन सातासम्म कुनै लक्षण देखिँदैन । त्यसपछि देखिने लक्षण पनि निकै साधारण हुन्छन् । यसका लक्षणमा ज्वरो, थकान, कमजोरी, टाउको दुख्ने आदि हुनसक्छ । त्यसपछि गम्भीर परिस्थितिमा बिरामीलाई श्वास फेर्न अप्ठ्यारो हुन थाल्छ । त्यसका अतिरिक्त अनुहार सुन्निएर कम्मर, छाती तथा पेट दुख्न थाल्छ । याे गम्भीर अवस्थामा पुगेपछि दाँत मुखबाट रक्तश्राव हुन्छ ।
‘नेपालमा हालसम्म मुसामा लासा भाइरस पुष्टि भएको छैन ।’ उहाँले भन्नुभयो ‘ पछिल्लो समय नेपाली पनि अफ्रिकी देशहरूमा विभिन्न कारणले पुग्ने क्रम बढ्दो देखिन्छ । त्यसैले संसारको कुनै पनि कुनामा पुष्टि भएको रोग नभित्रिएला भन्न सकिँदैन ।’
‘नेपालमा भएका मुसामा लासा भाइरस छ÷छैन जानकारी नभए तापनि पश्चिम अफ्रिका पुगेर आएकामा भने संक्रमण नहोला भन्न सकिँदैन । र सो संक्रमित व्यक्तिबाट अरूमा सर्न सक्ने सम्भावना बलियो हुन्छ त्यसैले यदि लक्षण देखिएको छ र अफ्रिकाबाट फर्कनु भएको छ भने सर्तकता अपनाउनु पर्छ ।’ डा पुनको सुझाव छ
लासा भाइरस कस्तो प्रकारको भाइरस हो हो र नेपाल कति जोखिममा छ ? भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग भिडियो कुराकानी गरेका छौँ ।