चिकित्सक अभावले गर्भवती र सुत्केरी महिलालाई समस्या
प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १७ गते । सल्यान अस्पतालमा सुत्केरी गराउन आइपुग्नुभएको छत्रेश्वरी गाउँपालिकाकी सुश्मा बुढाथोकी स्वास्थ्यकर्मीलाई खोज्दा–खोज्दै हैरान हुनुभयो । उहाँले अस्पतालका सबै भवन चहार्दा पनि स्वास्थ्यकर्मी भेटाउनुभएनन् । उहाँलाई स्वास्थ्यकर्मीले सुत्केरी हुने मिति फागुन ७ गते दिएका थिए ।
बागचौर नगरपालिका १२ बाफुखोलाकी सुशीला ओली पनि सुत्केरी गराउन गाडी ‘रिजर्भ’ गरेर जिल्ला अस्पताल पुग्नुभयो तर, एक जना चिकित्सकले मात्रै सुत्केरी गराउन नसक्ने जनाएपछि उहाँ अस्पताल बाट फर्किनु भयो । उहाँले भन्नुभयो, सल्यान अस्पतालमा सेवा पाइन्छ भनेर आए पनि सेवा पाउन सकिन ।
सल्यान अस्पतालमा चिकित्सकको नहुँदा केही दिनअघि सुत्केरी हुन आउनुभएको एक गर्भवती महिलाको मृत्यु भएको थियो । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर घर भएकी १९ बर्सिया केशरी रोका र उहाँको गर्भमा रहेको शिशुको मृत्यु भएको थियो ।
जिल्ला अस्पताल सल्यानमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा एकै दिन ५१ जनाभन्दा गर्भवती महिला उपचार नपाएर फर्किएका छन् । अस्पतालमा छ जना डाक्टरमध्ये एक जनाको सुरुवा, दुई जनाले जागिर टाडेका, एक जना अध्ययन बिदामा र एक जना तालिममा रहेका कारण अस्पतालमा सेवा प्रभावित हुने गरेको छ ।
१५ शय्याको अस्पताल अहिले एक जनामात्र डाक्टरको भरमा सञ्चालनमा छ । अस्पतालका एमडीजीपी डा. अभिषेक सिंहले जनशक्तिको अभावमा सेवा दिन समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक्लैले इमरजेन्सी, ओपीडी र अप्रेसन पनि गर्नुपर्ने हुन्छ । यी सबै काम एक्लै सम्भवन छैन ।
चिकित्सक नभएपछि अस्पतालले बिरामी भर्ना लिन छाडेको छ भने आकस्मिक कक्ष र वार्डमा बिरामी भर्ना गरिएको छैन । उपचार गराउन आएका बिरामीलाई अस्पतालले बाहिर रिफर गर्ने गरेको छ ।
स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले प्रदेश सरकारसँग डाक्टरको माग गरिएको र केही दिनमा प्रदेशले डाक्टर पठाउने अपेक्षा गरेको बताउनुभयो । उहाँका अनुसार अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएपछि सल्यानसहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।
जिल्ला अस्पतालमा ८ जना चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्र कार्यरत छन् । पाँच जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा अहिले एक जना मात्रै हुन् । अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामी महँगो शुल्क तिरेर कोही निजी अस्पताल जान बाध्य छन् भने कोही बाहिर जिल्ला जान बाध्य छन् । अस्पताल विकास समितिका अध्यक्ष सिपी ओलीले आफूहरूले पटक–पटक डाक्टरहरूको माग गर्दा पनि प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको बताउनुभयो । उहाँले जिल्ला अस्पतालमा डाक्टर आए पनि छिटो सरुवा हुने गरेकाले समस्या रहेको बताउनुभयो ।