स्वास्थ्य |

आर्थिक अभावले आँखा उपचारमा समस्या

राजन रावत
हुम्ला, फागुन २१ गते । आर्थिक अवस्था कमजोर भएका एक जना बिरामीलाई मोतियाबिन्दुको उपचार गर्न समस्या भएको छ ।

सिमकोट गाउँपालिका–८ को याङ्गु गाउँका ४५ वर्षीय बिरजित दमाईले आर्थिक अवस्था कमजोर भएका कारण मोतियाविन्दु (आँखा)को अप्रेशन गर्न सक्नुभएको छैन । जिल्लामै उपचार हुन नसक्ने भएको कारण जिल्ला बाहिर उपचार गर्न जान उहाँलाई समस्या भएको हो ।

आर्थिक अवस्था ज्यार्दै न्यून भएका उहाँले उपचार गर्न जिल्ला अस्पताल क्षेत्रमै रहेको आँखा उपचार केन्द्र जाँदा आँखाको अप्रेशन गर्नुपर्ने तर त्यो जिल्लामा सम्भव नभएको बताउनुभयो । केन्द्रले जिल्ला बाहिर नेपालगञ्जका आँखा अस्पताललाई थप उपचारका लागि रिफर गरेको छ ।

पाँच वर्षदेखि आँखामा मोतियाबिन्दु रोग लागेर हाल उहाँको देब्रे आँखाले देख्नै छोडेको छ । उहाँले आफुसँग आर्थिक समस्या भएकै कारण आँखाको उपचार गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

आँखा उपचारका लागि कम्तीमा पनि डेढ लाख लाग्छ । तर आफूसँग अहिले एक रुपियाँ पनि नभएको उहाँको भनाइ छ ।

अर्काको घरमा बस्दै आउनुभएका दमाईसँग पैसा नभएकै कारण रोग सहेर बस्नुपरेको उहाँका आफन्त मिससिंन नेपालीले बताउनुभयो ।