बाँकेमा १२ औं पटक हात्तीपाईले रोगको औषधि खुवाउने अभियान शुरु
सिराज खान
नेपालगञ्ज, फागुन २८ गते । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधि सेवन अभियान शनिबारबाट बाँके जिल्लामा शुरु गरिएको छ ।
बाँकेका ८ वटै स्थानीय तहमा एकैसाथ उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बाँकेका सबै पालिकामा एकैसाथ औषधि खुवाउने सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतले सामूहिक रुपमा औषधि सेवन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम बाँकेमा विगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम छ वर्षमा सम्पन्न हुनुपर्नेमा सर्वसाधारणले औषधि सेवन गर्न नमान्दा १२ औं पटक सञ्चालन गर्नुपरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
११ वर्षमा ११ पटक औषधि खुवाउने अभियान चलाइए पनि प्रभावकारी नभएपछि हाल आएर १२ औं पटक औषधि सेवन कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शाहको भनाइ छ । रोग निवारणको निर्धारित समयको दोब्बर पटक औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाईले निवारण हुन नसक्दा राज्यले पटकपटक बाँकेमा सोविरुद्ध अभियान चलाउनु परेको उहाँले बताउनुभयो ।
शाहका अनुसार अहिलेको औषधि पहिलेको भन्दा थप गरिएको छ । जुन निकै प्रभावकारी छ । जसले एक वर्षमै हात्तीपाइले निवारण गर्न सक्दछ । त्यसैले शनिबारबाट १४ दिन बाँकेका घरघरमा पुगेर स्वयंसेवक आफैँले औषधि खुवाउने छन् ।
यस पटक सबै स्थानीय तहका जनप्रतिनिधि, नागरिक, राजनीतिक दल, संघ, संस्थाले हात्तीपाईले विरुद्धको अभियानमा हातेमालो गरिरहेको जनाउँदै प्रमुख शाहले यसअघि जस्तो परिवारका सदस्यलाई औषधि दिनेभन्दा यस पटक आफैँले खुवाउने पर्ने नियम बनाएको बताउनुभयो ।