कैलालीमा हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान सुरु
अविनाश चौधरी
धनगढी, फागुन २८ गते । कैलालीमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान शनिबारदेखि सुरु भएको छ । नवौं पटकसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान असफल भएपछि यो वर्ष दशौं अभियान सुरु गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आम औषधि सेवन गरेर अभियानको उद्घाटन गर्नुभयो ।
सो क्रममा उहाँले स्वास्थ्यमा पहुँच रहेको कैलालीबाट हात्तीपाइले रोग निवारण हुन नसकेका कारण सुदूरपश्चिम प्रदेश हात्तीपाइले रोगमुक्त प्रदेश बन्न नसकेको बताउनुभयो । ‘कैलाली प्रदेश राजधानी भएको जिल्ला पनि हो’, मन्त्री खड्काले भन्नुभयो, ‘तर, यहि जिल्ला हात्तीपाइले रोगविरुद्धको अभियानमा किन पछाडि परेकाे छ । हाम्रो ध्यान कहाँ पुगेन ?’
उहाँले यस पटक अभियानलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । ‘यदि कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सफल हुन्छ भने प्रदेश नै हात्तीपाइले रोगमुक्त हुनेछ ।,’ मन्त्री खड्काले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेश जनस्वास्थ्यका धेरै सूचकमा अगाडि रहेको उल्लेख गर्दै उहाँले यसपटक सबैले मिलेर कैलालीमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सफल बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्रीले अभियानलाई सफल पार्नका लागि बढीभन्दा बढी सकारात्मक प्रचारप्रसार गरि दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
कैलालीमा यसवर्ष हात्तीपाइले रोगविरुद्धको तीन प्रकारका औषधि खुवाइँदैछ । गतवर्षसम्म डीइसी र अल्बेन्डाजोल गरेर दुई प्रकारका औषधिमात्रै खुवाइएको थियो । यो वर्ष आइभरमेक्टिन नामक औषधि थप गरिएको छ ।
यो औषधिले हात्तीपाइले रोगको कीटाणु मार्ने काममात्रै नगरेर लुटो, दाद पनि निको पार्ने, मलेरिया सर्नबाट जोगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।
कैलालीमा आठ लाख ६९ हजार ८६९ व्यक्ति औषधि खान योग्य छन् । जसमध्ये कम्तीमा पनि ८० प्रतिशतभन्दा बढीलाई यो औषधि खुवाइने लक्ष्य राखिएको छ । गतवर्ष सात लाख ३१ हजार ४५६ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए । यद्यपि, औषधि खान योग्य उमेरका ५.३ प्रतिशत जनसङ्ख्याले औषधि नखाइदिँदा अभियान सफल हुन नसकेको धामीले बताउनुभयो । यसअघि, २०७६ मा ९.८४ प्रतिशत जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आम औषधि नखाएको जिल्ला स्वास्थ्य कार्यालयसँग तथ्याङ्क छ ।
खास गरेर मान्छेले औषधि नखाइदिने कारणले अहिलेसम्म अभियान सफल हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । हात्तीपाइले रोगविरुद्धको आम औषधि ९९.९९ प्रतिशत सुरक्षित रहेको बताइएको छ । धेरैजसो मान्छेले गलत हल्लाका कारण हात्तीपाइले रोगविरुद्धको औषधि खान मन गर्दैनन् । तर, यो औषधि एकदम सुरक्षित रहेकाले सबैले खाएर हात्तीपाइले रोगलाई कैलालीबाट निवारण गर्न जरुरी रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिशियन डा. शेरबहादुर कमर बताउनुहुन्छ । ‘सतप्रतिशत सुरक्षित त कुनै पनि चिज हुँदैन ।,’ उहाँले भन्नुभयो, ‘तर, हात्तीपाइले रोगविरुद्धको करोडौं चक्की अहिलेसम्म प्रयोग भइसक्दा ९९.९९ प्रतिशत सुरक्षित देखिएको छ ।’ हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चैत दोस्रो सातासम्म सञ्चालन रहने जनाइएको छ ।