स्वास्थ्य |

उपत्यकामा सहज, स्थानीय तहमा प्रविधि छैन, जोखिम निम्तिने खतरा

काठमाडौं, फागुन २९ गते । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले यसबीचमा निरन्तर प्रयास गर्दै आएको छ । कोरोनाको उपचारमा प्रयोग भएका सामग्रीको व्यवस्थापन भने चुनौतीको विषय बनेको छ । कोरोनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ल्याबबाट निस्किएको फोहोर, अस्पतालमा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुले प्रयोग गरेका पीपीई, मास्क, पन्जा लगायतका स्वास्थ्य सामग्री, आइसोलेसन सेन्टरबाट निस्किएको फोहोर र खोप अभियानका क्रममा ठूलो परिमाणमा निस्किएका फोहोरको व्यवस्थापन सजिलो छैन ।
सङ्क्रमितहरुको उपचार गर्ने अस्पतालबाट निस्किएको फोहोर अन्य अवस्थामा भन्दा थप जोखिमयुक्त हुने भएकाले यसको उचित व्यवस्थापन चुनौतीपूर्ण रहेको चिकित्सकहरु बताउँछन् ।
सङ्क्रामक र सामान्य फोहोरलाई समयमा नै छुट्याउन नसकिए अस्पतालका सबै फोहोर सङ्क्रामक हुनुका साथै यसले मानव स्वास्थ्यमा अर्काे गम्भीर असर निम्त्याउने खतरा रहेको जनस्वास्थ्यविद्हरुको विचार छ ।
नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ५४ लाखभन्दा बढी पीसीआर र १० लाखभन्दा बढी एन्टिजेन परीक्षण गरिएको छ । त्यस्तै, तीन करोड ७२ लाखभन्दा बढीले खोप लगाएका छन् । यसरी हेर्दा कोरोना नियन्त्रण गर्दा एकैपटक ठूलो मात्रामा फोहोर निस्किएको अनुमान गर्न सकिन्छ ।
कोरोना नियन्त्रण गर्दा निस्किएको फोहोरको व्यवस्थापन कसरी गरिरहेको छ ? भन्ने विषयमा स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाअन्तर्गतको वातावरणीय स्वास्थ्य तथा स्वास्थ्य जन्य फोहोरमैला व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले कोभिडका कारणले कति परिमाणमा फोहोर बढ्यो भनेर भन्न नसके पनि पहिलेको तुलनामा थुप्रै फोहोर निस्केको बताउनुहुन्छ ।
‘कोरोना नियन्त्रणमा कति परिमाणमा फोहोर निस्कियो भनेर यकिन तथ्याङ्क छैन ।,’ उहाँले भन्नुभयो, ‘तर, कोरोना परीक्षण गरेका किट, पीपीई, पन्जा, मास्क, सुई र खोपका सीसी गरेर थुप्रै फोहोर निस्किएको छ ।’
उहाँका अनुसार स्वास्थ्यसम्बन्धी ऐन अनुसार अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने जिम्मा अस्पतालको र स्वास्थ्य चौकीबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने जिम्मा पालिका र नगरपालिकाको हो ।


केही खोप केन्द्र र अस्पतालको फोहोर व्यवस्थापन गरे पनि अझै पनि ठूलो सङ्ख्यामा फोहोर व्यवस्थापन गर्न बाँकी रहेको ढुङ्गाना बताउनुहुन्छ ।
धेरै जस्ता अस्पताल र स्थानीय तहहरुले आफ्नो तरिकाले फोहोरको व्यवस्थापन गरिसकेको छ । बाँकी रहेका सबै खोप केन्द्र र अस्पतालबाट कति मात्रामा फोहोर निस्किएको छ भनेर तथ्याङ्क सङ्कलन गरी चाँडो विर्सजन गर्ने योजना रहेको उहाँको भनाइ छ
उपत्यकाको फोहोरको व्यवस्थापन
विभिन्न सङ्घसंस्थाको समन्वयमा जिआइजेट, विश्वस्वास्थ्य सङ्गठन युएनडीपीको सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रबाट निस्किएको चार लाख सिरिन्ज प्रसूतिगृह र सिभिल अस्पतालमा लगेर डिस्पोज गरिएको डा. ढुङ्गानाले जानकारी दिनुभयो । फोहोर डिस्पोज गर्न काठमाडौं सिभिल अस्पतालमा माइक्रोवेभ र प्रसूति गृहमा अटोक्लेभ मेसिन छ ।
‘कतिपय अस्पतालमा आफ्नो सिस्टम छ, त्यही अनुसार उहाँहरुले फोहोरको व्यवस्थापन गर्नुहुन्छ । ठूला अस्पतालमा अटोक्लेभ गर्ने, वासिङ मेसिनमा सफा गर्ने, त्यसलाई प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने, फाल्नेलाई डिस्इन्फेक्ट गरेर फाल्ने गर्नुहुन्छ ।,’ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘सिभिल अस्पतालमा माइक्रोवेभ टेक्नोलोजी छ, त्यसमा धूलो पार्ने प्रविधि पनि छ त्यसलाई डिस्इन्फेक्ट गरेर फोहोरलाई सङ्क्रमण रहित बनाएर निकाल्छ । त्यसपछि नगरपालिकाको फोहोरमा मिसाउने हो ।’
उपत्यका बाहिरको फोहोर
ढुङ्गानाका अनुसार कतिपय खोप केन्द्रमा खोप लगाउँदा सिरिन्जलाई निडिल कटरले काटेर निडल र त्यसको पछाडिको भागलाई छुट्टाछुट्टै बनाएर डिस्पोज गर्ने गर्दछन् ।
कतिपय ठाउँमा सेफ्टी ब्याग जलाएपछि त्यो डल्लो बनाई खाल्डोमा पुर्ने गरेको पाइएको छ । वातावरणीय प्रदूषण नहोस् भन्नाका लागि सेफ्टी ब्याग नबाल्न आग्रह गरेको ढुङ्गाना बताउनुहुन्छ । ‘सेफ्टी ब्याग बाल्नुको सट्टा सिमेन्टको ट्याक्टी बनाएर सिरिन्जलाई त्यही ट्याङ्कीमा हालेर बिर्को बन्दा गर्ने निर्देशिका बनाएर दिएका छौँ । त्यसमा राखेर बिर्काे बन्द गर्ने गाइडलाइन बनाएका छौँ पहिले पनि केमिकलहरुलाई नचुहिने गरेर सोही विधि अपनाएका थियौँ ।,’ उहाँले भन्नुभयो ।


विज्ञहरुका अनुसार अटोक्लेभ गरेर डिस्पोज गर्नु सबैभन्दा उपयुक्त तरिका हो । तर, नेपालभर १६ हजार खोप केन्द्र छन्, ती सबै ठाउँमा यो विधि सम्भव छैन । अटोक्लेव मेसिन सबैजस्ता जिल्ला अस्पतालहरुमा पुगेको भए पनि गाउँका विभिन्न खोप केन्द्रमा यस्तो प्रविधि नपुगेको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख ढुङ्गानाले बताउनुभयो ।
‘३० वटा अटोक्लेभ मेसिन जिल्लामा अब छिट्टै पठाउने योजना छ, त्यसपछि सबै जिल्ला अस्पतालमा पुग्छ । त्यसलाई इन्स्टल गरेर प्रयोगमा ल्याउन चुनौती छ । तर, दुर्गमका खोप केन्द्रमा यस्तो सुविधा छैन ।’, उहाँ भन्नुहुन्छ ।
मास्क र ल्याबबाट निस्केको फोहोर व्यवस्थापनमा चुनौतीे
कोरोना महामारीका बेला विश्वव्यापी रुपमा मास्कको प्रयोग अनिवार्य जस्तै बन्यो भने विस्तारै यो आम जनजीवनकै अभिन्न पाटो बन्न थालेको छ । मास्कको प्रयोग अत्यधिक हुने गरेकोमा त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिएको छैन । आमा मानिसले प्रयोग गरेको माक्स सिधैँ नगरपालिकाको फोहोरमा मिसिने गरेको ।
घरेलु बिरामी स्याहारमा प्रयोग हुने ग्लोब्स, मास्क र अन्य फोहोरलाई बिर्को भएको फोहोर सङ्कलन गर्ने भाँडामा बिरामीको कोठाभित्र नै राख्नुपर्छ र सङ्क्रमित फोहोरको रुपमा उचित विसर्जन गर्न सकिने स्वास्थ्य मन्त्रायले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ । त्यस्तै ल्याबबाट निस्किएको केमिकलहरुको व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ ।
खोप विर्सजन निर्देशिकामा के व्यवस्था छ ?
कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न बनाइएको निर्देशिकामा प्रयोग गरेका सिरिञ्ज/निडिल सेफ्टी बक्समा राख्ने । निडल कटर उपलब्ध भएमा यसको प्रयोग गर्ने उल्लेख गरिएको छ ।
‘सेफ्टी बक्सको चार भागको तीन भाग मात्र राख्ने अथवा एक सय वटा जति सिरिन्ज राख्ने । खाली भ्याक्सिन भायल, प्रयोग भइसकेका अन्य सामग्रीहरू छुट्टा–छुट्टै झोलामा सङ्कलन गर्ने । अन्य फोहाेर जस्तै सिरिन्जको खोल, कपास, काम नलाग्ने कागज पत्र, व्यक्तिगत सुरक्षाका सामग्री छुट्टै झोलामा राखी वातावरणमैत्री विसर्जन गर्ने । पालिकाको फोहोर व्यवस्थापन प्रणाली भएमा समन्वय गरी व्यवस्थापन गर्ने ।
स्वास्थ्य संस्थामा सङ्कलन गरिएका सेफ्टी बक्सहरू जम्मा गरेर सुरक्षित राख्ने र अभियान सम्पन्न भएपछि सुरक्षित तरिकाले व्यवस्थापन गर्ने, अटोक्लेभ वा माइक्रोवेभ जस्ता प्रविधि अपनाउने । रासायनिक उपचार गरेर विसर्जन गर्ने । इन्क्याप्सुलेसन गर्ने र स्यानिटरी ल्याण्डफिलमा गाड्ने । सेप्टिक कङ्क्रिट भल्टको प्रयोग गरेर विसर्जन गर्ने ।
स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनसम्बन्धी निर्देशिकामा के छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मा कोभिड–१९ महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापनबारे अन्तरिम निर्देशिका जारी गरेको छ । सबै बिरामी कोभिड–१९ सङ्क्रमितलाई स्याहार गर्दा उत्पादित सम्पूर्ण फोहोमैलालाई सङ्क्रमित फोहोरमैलाको रुपमा लिने र उक्त फोहोर प्रष्ट लेबल लगाइएका भाँडा बाल्टिन÷बिनमा र धारिलो वस्तुहरुलाई सुरक्षित बक्सभित्र सङ्कलन गरी राख्न निर्देशिकामा छ ।


‘उक्त निर्देशिकाले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विभिन्न चरण समेत छुट्याएको छ । जसमा फोहोरमैलाको उत्पादनलाई घटाउने, फोहोरमैलालाई छुट्याउने÷वर्गीकरण गर्ने, फोहोरमैला सङ्कलन, ओसारपसार तथा भण्डार, फोहोरमैलाको उपचार, फोहोर उत्पादन हुने क्षेत्रमा नै खाल्टो खन्ने र पुर्ने विधि, प्राकृतिक रुपमा नै नष्ट हुन छाडिदिने, विर्सजन र सुरक्षा तथा स्वास्थ्य चरणहरु फलो गर्नुपर्ने उल्लेख गरेको छ ।
फोहोरमैला सङ्कलन, ओसारपसार तथा भण्डारण गर्न सबैभन्दा पहिला सम्पूर्ण सङ्क्रमित फोहोरलाई स्पष्ट रुपमा लेबल गर्नुपर्ने, धारिला फोहोरहरुको लागि नछेडने र अन्य फोहोरको हकमा बायो हजार्ड ब्यागसहितका नफुट्ने, छिद्र नभएका भाँडाहरु (बिर्का भएका बिन, बाल्टी) मा सुरक्षित तरिकाले सङ्कलन गर्नुपर्ने उल्लेख छ । यसरी छुट्याएको सङ्क्रमण नभएको फोहोरमैलालाई पनि सुरक्षित रुपमा सङ्कलन गरी बलियो प्लास्टिकको झोलामा बाँध्नुपर्छ र सावधानीपूर्वक नगरपालिकाको फोहोरमैला व्यवस्थापन प्रणालीमा पठाउन सकिने कुरा निर्देशिकामा उल्लेख छ ।
यसका साथै अन्य सङ्क्रमित फोहोर जस्तैः रगत तथा शरीरका अन्य तरल पदार्थ मिश्रित फोहोरमैला, प्रयोगशाला नमुना, प्रयोग गरिएका केमिकल, स्वाब, पट्टी, कपास, प्रयोग भएका उपचार सामग्री, मानव अङ्ग, तन्तु, धारिलो वस्तुलाई पूरै बन्द हुनेगरी बायो हाजार्ड चिह्न भएको भाँडामा जम्मा गर्नुपर्छ र छुट्टै सङ्क्रमणमुक्त गर्ने प्रक्रियामा लानुपर्छ । यस्तो अति सङ्क्रमित फोहोरमैलाको व्यवस्थापन उत्पादन भएदेखिको २४ घण्टाभित्रमा गरिसक्नुपर्ने कुरा निर्देशिकामा उल्लेख छ ।’

तस्बिरहरू : केशव गुरूङ