स्वास्थ्य | प्रदेश |

स्तरोन्नति नगरे गोरखाका सबै एम्बुलेन्स बन्द हुने सरोकारवालाको चिन्ता

नरेन्द्र ढकाल
गोरखा, फागुन ३० गते । जिल्लामा ‘ग’ श्रेणीका एम्बुलेन्स मात्र भएपछि सरकारले ती एम्बुलेन्सलाई हटाउने नीति अघि सारेको छ । एम्बुलेन्स निर्देशिका २०७७ अनुसार स्तरीय एम्बुलेन्स मात्र सञ्चालन गर्न पाइने व्यवस्था छ ।

व्यवस्थित रुपमा एम्बुलेन्स चलाउनुपर्छ भन्ने राज्यको धारणा छ, स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले भन्नुभयो, ‘अब ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्स मात्र चलाउने ‘ग’ वर्गको एम्बुलेन्सलाई बन्द गर्ने हाम्रो लक्ष्य हो ।’ केन्द्र र प्रदेश सरकारले निर्देशिका जारी गरेकाले कसरी अघि बढ्ने बारेमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा ५६ वटा एम्बुलेन्स सञ्चालनमा छन् । ती सबै ‘ग’ श्रेणीका एम्बुलेन्स रहेको उहाँको भनाइ छ । ‘क’ र ‘ख’ श्रेणीको एम्बुलेन्स गोरखामा एउटा छैनन् । ‘अहिले एम्बुलेन्सहरु बिरामी बोक्न लायकका भएनन्, एम्बुलेन्स स्टाण्डर टाइपको अर्थात ‘क’ र ‘ख’ श्रेणीको हुनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘आकार पनि अलि ठूलो हुन्छ, त्यसको भित्रै डेलिभरी गराउने, रेडियो टेलिकमिन्युकेसन, वाकेट्वाके, फोरजी कनेक्टिभिटी, भित्र नै इसिजी गर्न मिल्ने, कृत्रिम स्वास दिन सकिनेलगायतका सुबिधा भएको चारचक्के हुनुपर्छ ।’

त्यहाँ अनिर्वाय रुपमा एक जना स्वास्थ्यकर्मी रहनुपर्ने बाध्यकारी व्यवस्था पनि अहिलेको निर्देशिकामा उल्लेख रहेको उहाँले जानकारी दिनुभयो । ‘यस्तो एम्बुलेन्स गोरखामा अहिले एउटा पनि छैन । ‘ग’ श्रेणीका अधिकांश एम्बुलेन्स थोत्रा छन्, कतिपय काम नलाग्ने भइसकेका छन्,’ खड्काले भन्नुभयो । त्यस्ता सबै एम्बुलेन्सलाई हटाउँदै लैजाने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।

अबदेखि कम्तिमा ५ शैयाको अस्पताल सञ्चालन भएको ठाउँमा मात्र एम्बुलेन्स सञ्चालन गर्न पाइने प्रावधान बनाइएको उहाँको भनाइ छ । पालिका स्तरीय अस्पताल निर्माण भएपछि त्यसको मातहतमा मात्र एम्बुलेन्स चलाउन पाइने उहाँले जानकारी दिनुभयो । तर अहिले भने विभिन्न व्यक्ति, संस्था र कतिपय स्थानीय तहका नाममा पनि एम्बुलेन्स सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

गाउँमा खुलेका सामाजिक संघ संस्थाले भन्सार छुटमा एम्बुलेन्स ल्याएर कतिपयले अन्य काममा समेत लगाएको आरोप लाग्नेगरेको उहाँले बताउनुभयो । कुन एम्बुलेन्स कहाँ चल्छ, कसरी चल्छ त्यसको नियमन गर्ने प्रभावकारी संयन्त्र छैन । जसका कारण दुरुपयोग बढेको हुनसक्छ उहाँले भन्नुभयो । ‘अहिलेसम्म भएका एम्बुलेन्सको हकमा जो जसले स्तरोन्नति गरेर ‘क’ मा ‘ख’ मा ल्याउन सक्छ उसले चलाउन पाउँछ,’ एम्बुलेन्स सञ्चालन एवं व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय समितिका सदस्यसचिव समेत रहेका खड्काले भन्नुभयो, ‘यदि ल्याउन सक्दैनन भने अहिलेजस्तो साइरन बजाएर बिरामी बोक्ने अवस्था हुँदैन ।’