स्वास्थ्य |

हात्तीपाइले रोग निवारण समयमा भएन, लक्ष्य दश वर्ष थपियो

 

काठमाडौं, चैत २ गते । नेपालले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्य समस्याबाट निवारण गर्ने लक्ष्य लिए पनि लक्ष्यअनुसार निवारण हुन सकेको छैन । लक्षित जनसङ्ख्याले औषधि नखाएकाले रोगको निवारण गर्न नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख निर्देशक डा. चुमनलाल दास बताउनुहुन्छ । ‘हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहे पनि सबै नागरिकलाई औषधि सेवन गर्नेतर्फ आकर्षित गर्न नसक्दा सरकारलाई उक्त लक्ष्य पूरा गर्न चुनौती देखिएको छ’ निर्देशक डा. दासको भनाइ छ । महाशाखाका शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार सुरुमा हिमाली जिल्लामा हात्तीपाइले रोगको जीवाणु नभेटिएकाले औषधिको कार्यक्रम सञ्चालन गरिएको थिएन ।

कार्यक्रम १४ दिनसम्म चल्ने

‘पछिल्लो पटक म्यापिङ गर्दा हिमाली जिल्ला रसुवामा पनि हात्तीपाइले रोगका जीवाणु भेटियो र त्यहाँ औषधि खुवाउनु पर्ने भएकाले सरकारले लक्ष्य परिमार्जन गरी २०३० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउने लक्ष्य लिएको छ, ’उहाँले भन्नुभयो । रोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउन सरकारले प्रत्येक वर्ष हात्तीपाइले विरुद्धको औषधि निःशुल्क रुपमा वितरण गर्नुका साथै हात्तीपाइलेबाट अङ्गभङ्ग भएका र हाइड्रोशिल भएको बिरामीको निःशुल्क शल्यक्रिया गर्दै आएको छ । औषधि पाँच वर्षसम्म खानुपर्छ । महाशाखाका शाखा प्रमुख दाहालका अनुसार मोरङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, बारा, लम्जुङ, पर्वत र बाग्लुङ गरी १० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरेको छ । २८ गतेबाट सुरु भएको उक्त कार्यक्रम १४ दिनसम्म चल्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कार्यक्रममा १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई औषधि खुवाउने लक्ष्य लिएकोे छ ।

रोग निवारणका लागि १० जिल्ला मध्ये ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने महाशाखाका निर्देशक डा. दासले जानकारी दिनुभयो । डा. दाहालका अनुसार गत वर्षको तुलनामा यसपटक औषधि खानेको सङ्ख्या बढेको प्रारम्भिक अनुमान छ । औषधिको माग बढेकाले थप औषधि पठाएको दाहालले जानकारी दिनुभयो । कुन कुन औषधि खुवाउँदैछ, यसअघि सरकारले रोग नियन्त्रणमा सय एमजीको डाइथाइलकार्बामाजिन र चार एमजीको अल्बेन्डान्जोल औषधि प्रयोग गर्दै आएको थिए ।

तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा डाइथाइलकार्बामाजिन प्रयोग गरिएका व्यक्तिमा पनि रोग निवारण हुन नसकेपछि आइभरमेक्टिन औषधि थप गरिएको निर्देशक डा. दासले जानकारी दिनुभयो । पाँच जिल्लामा भने सय एमजी डाइथाइलकार्बामाजिन र चार सय एमजीको अल्बेन्डाजोल औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको दासले बताउनुभयो । उहाँका अनुसार यो औषधिलाई लुतो र मलेरियाको उपचारमा पनि प्रयोग गरिन्थ्यो । महाशाखाका निर्देशक डा. दासका अनुसार विश्व स्वास्थ्य सङ्गठनले २०१७ मा नै यो औषधिलाई यस रोगविरुद्ध प्रयोगका लागि अनुमति दिइसकेको छ । ‘तीनथरीका औषधि पूर्णरुपमा सुरक्षित छन् ।

तीनै औषधि दशकौंदेखि विश्वभरि प्रयोग हुँदै आइरहेका छन् । यी तीनथरीका औँषधिले हात्तीपाइले रोग लागिसकेकाहरुको उपचामा अझ धेरै प्रभावकारी हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ ।’ उहाँले भन्नुभयो, ‘यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ साथै यो औषधि लुतो र जुम्राको उपचारमा निकै सहयोगी हुन्छ ।’ उहाँका अनुसार पहिले खुवाउँदै आएका दुई प्रकारका औषधि प्रयोग गरिने जिल्लाहरु झापा, बारा,लमजुङ, पर्वत र बागलुङ छन् । सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ । अहिले ५३ वटा जिल्लामा औषधि सेवन अभियान कार्यक्रम बन्द भइसकेको छ।

औषधि कसले खानुहुँदैन 

चिकित्सकका अनुसार हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुेका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगी र खाली पेटमा सेवन गर्न हुँदैन। शरीरमा हात्तीपाइलेको परजीवी भएका व्यक्तिमा औषधि सेवनपछि सामान्य टाउको दुख्ने, रिङ्गाटा लाग्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यी लक्षण देखिएमा औषधिले काम गरेको बुझ्नुपर्ने चिकित्सक बताउँछन् । उचाइ अनुसार कति औषधि खाने सरकारले हात्तीपाइले रोग विरुद्ध खुवाइने डाइथाइलकार्बामाजिन, अल्बेन्डाजोल र आइभरमेक्टिन औषधिको मात्रा व्यक्तिको उचाइ अनुसार खुवाउन आग्रह गरेको छ । तीनै थरीका औषधिका चक्कीको मात्रा उचाइका आधारमा यसरी खाना सकिन्छ । उचाइ अनुसार ९० सेमिभन्दा तल तर २ वर्षभन्दा माथिकाले १०० एमजीको डाइथाइलकार्बामाजिन एक चक्की र चार सय एमजीको अल्बेन्डाजोल एक चक्की।

९० सेमिदखि ११२ सेमिसम्म ३ एमजीको आइभरमेक्टिन एक चक्की, १०० एमजीको डाइथाइलकार्बामाजिन एक चक्की र चार सय एमजीको अल्बेन्डाजोल एक चक्की । ११३ सेमिदेखि १३३ सेमिसम्म ३ एमजीको आइभरमेक्टिन दुई चक्की, १०० एमजीको डाइथाइलकार्बामाजिन दुई चक्की र ४ सय एमजीको अल्बेन्डाजोल एक चक्की। १३३ सेमिदेखि १४६ सेमिसम्मकाले तीन एमजीको आइभरमेक्टिन तीन चक्की, १०० एमजीको डाइथाइलकार्बामाजिन तीन चक्की र ४ सय एमजीको अल्बेन्डाजोल एक चक्की। १४७ सेमिदेखि माथिकाले तीन एमजीको आइभरमेक्टिन चार चक्की, १०० एमजीको डाइथाइलकार्बामाजिन चार चक्की र चार सय एमजीको अबलेन्डाजोल एक चक्की।

के हो हात्तीपाइले रोग 

हात्तीपाइले रोग सरुवा रोग हो । चिकित्सकका अनुसार हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तो फाइलेरिया नामक परजीविले सङ्क्रमणबाट हुने गर्दछ । क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । यो रोग जुनसुकै उमेरसमूहलाई हुन्छ । लामखुट्टेको टोकाइबाट सर्ने भएकोले केटाकेटीहरु बढी जोखिमपूर्ण हुन्छन् । तर रोगको लक्षण वयस्क भएपछि मात्र देखिने गर्दछन् । लक्षणहरु यस प्रकारका छन् लक्षणहरुमा जाडो हुनु, ज्वरो आउनु र शरीरमा कम्पन हुनु, लिम्फ नलीहरु सुनिनु, रातो हुनुका साथै दुख्ने गर्दछ । हातखुट्टामा नीलाकाला धर्साहरु देखिने, गिर्दा बढ्नु,दुख्नु र पुरुषको अण्डकोष वरपरका नसाहरु फुल्नुका साथै दुख्ने गर्छ ।

दीर्घकालीन लक्षणहरु यस्ता छन् अण्डाकोष ठूलो हुनु, दुख्नु, गिर्खा हुनु, हाइड्रोसिल अर्थात अण्डकोष वरिपरि पानी भरीनु र ठुलो हुनु । महिलाका यौनाङ्ग, स्तन सुनिनु, खुट्टा सुनिनु हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु हाे । यो रोग लागेपछि बिरामीले दैनिक जीवनका क्रियाकलाप गर्न असक्त हुँदै जाने र पछि अपाङ्ग हुने चिकित्सक बताउँछन् । हात्तीपाइले भैसकेपछि निको पार्न सकिँदैन डा. दासका अनुसार चिकित्सकका अनुसार यो रोग एक पटक देखिइसकेपछि फेरि निको पार्न सकिँदैन । साथै, रोगीहरुलाई अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ ।

मानिसको शरिरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यसका लक्षण देखिन्छन् । छ वर्षसम्म आम औषधि सेवन गरेको खण्डमा यो रोग सर्ने प्रक्रियालाई पूर्णतया रोक्न सकिन्छ । त्यस्तै, हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै यसलाई निको पार्न औषधिको सेवन गर्न महाशाखाले आग्रह छ ।

कति छन् हात्तीपाइलेका रोगी

महाशाखाका अनुसार २००१ मा शाखाले गरेको म्यापिङमा नेपालमा औसतमा सय जनामा १३ जनामा हात्तीपाइलेको परजीवी पाइएको छ ।

नेपालमा ३० हजारभन्दा बढी हाइड्रोसिलका बिरामी रहेको अनुमान गरिएकाे छ। ‘पछिल्लो समयमा औषधि खुवाइरहेका जिल्लाहरुमा १ देखि ४ प्रतिशतमा हात्तीपाइलेको परजीवी पाइएको छ ।’ डा. दास बताउनुहुन्छ, ‘कुनै जिल्लामा कम छ, कुनैमा बढी ।’ विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार ८१ राष्ट्रका एक अर्ब ३० करोड व्यक्ति हात्तीपाइले रोगको जोखिममा छन् । हाल १२ करोड व्यक्ति यो रोगबाट सङ्क्रमित छन् । तीमध्ये करिब ४ करोड व्यक्ति रोगले गर्दा अपाङ्ग र अशक्त भएका छन् ।