हुम्ला अस्पतालबाट थप विशेषज्ञ शल्यचिकित्सा सेवाका लागि सम्झौता
राजन रावत
हुम्ला, चैत ७ गते । हिमाली जिल्ला हुम्लाको अस्पतालबाटै विशेषज्ञ शल्यचिकित्सा सेवालाई निरन्तरता दिनका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ । विशेषज्ञ शल्यचिकित्सा सेवा दुर्गमकै अस्पतालबाट नियमित र दक्ष जनशक्तिसहित प्रदान गर्न मन्त्रालय र प्रतिष्ठानबीच सम्झौता भएको हो ।
प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महतका अनुसार यसअघि हुम्ला अस्पतालबाट एक जना मात्र विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएकोमा यो सम्झौतापछि तीन जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान हुनेछ । उहाँले सम्झौता भइसकेको र अब प्रतिष्ठानबाट चाँडै तीन जना विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रदान हुने बताउनुभयो । अस्पतालमा खटिने तीन जना विशेषज्ञ चिकित्सकमध्ये एक जनाले सुत्केरी गराउनेदेखि स्त्रीरोगका सम्पूर्ण सेवा प्रदान गर्नेछन् । अर्को सर्जर चिकित्सकबाट सामान्य चिरफारदेखि उपकरण भएसम्मका चिरफारका कार्य हुनेछन् भने अर्का चिकित्सकबाट औषधिसम्बन्धी कार्यहरु प्रदान गरिनेछ । यसअघि एक जना प्रतिष्ठानकै समन्वयमा एक जना विशेषज्ञ चिकित्सकले सुत्केरी र स्त्रीरोगको उपचार हुने गरेकोमा अब भने अन्य सेवाको पनि विशेषज्ञ चिकित्सकबाट अस्पतालमा सेवा प्रदान गरिनेछ ।
अब विशेषज्ञ सेवाकै अभावले बिरामीलाई जिल्ला बाहिर महङ्गो हवाई भाडा तिरेर उपचार गर्नुपरेकोमा अब भने जिल्लामै सो सेवा उपलब्ध हुनेछ । सम्झौतापछि यसअघिको गराइने सेवाले निरन्तरता पाएको छ भने अन्य दुई सेवा पहिलोपटक थपिएका छन् । यसका लागि मन्त्रालयका सचिव र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलबीच सम्झौतामा हस्ताक्षर भएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले विस्तारै विशेषज्ञ सेवा थप हुनु जिल्लावासीकै लागि खुसीको कुरा भएको बताउनुभयो ।