बाँकेमा छ महिनामा क्षयरोगबाट २५ जनाको मृत्यु
सिराज खान
नेपालगञ्ज, चैत ९ गते । बाँकेमा चालू आर्थिक वर्षको छ महिनामा क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा नेपालगञ्जमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीले चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म क्षयरोगबाट २५ जनाको मृत्यु भएको जानकारी दिनुभयोे ।
उहाँले गएको आर्थिक वर्षमा क्षयरोगबाट जिल्लामा ३७ जनाको मृत्यु भएको जनाउँदै यस वर्ष छ महिनामा २५ जनाको मृत्यु भइसकेकाले यो वर्ष मृत्यु हुनेको सङ्ख्या वृद्धि हुने बताउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार यस्तै चालू आर्थिक वर्षकोे छ महिनामा ४९४ जना क्षयरोगका नयाँ बिरामी पनि बाँकेमा फेला परेका छन् । गएको आर्थिक वर्षमा जिल्लामा ८३५ जना क्षयरोगी फेला परेका थिए ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै नेपालगञ्जमा २३८, कोहलपुरमा १४५ र खजुरामा १०७ जना क्षयरोगी फेला परेका छन् । यस्तै राप्तीसोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेलापरेको फोकल पर्सन नेपालीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनीता पौडेलले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म एक हजार ३८६ जना उपचारको दायरामा आउनुपर्नेमा ४९४ जना मात्र उपचारको पहुँचमा आएको अन्यको खोजी भइरहेको बताउनुभयो ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका, टिभी नेपाललगायतका विभिन्न संघसंस्थाद्धारा संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा सरोकारवालाले क्षयरोग नियन्त्रणका लागि गरेका प्रयासबारे जानकारी गराएका थिए ।
सो अवसरमा स्वास्थ्य कार्यालयका अधिकृत हेमराज डाँगी, बीएनएमटीका दीपेन्द्र पाण्डे, टीवि नेपालका चेवनकुमार शर्मा लगायतले क्षयरोग नियन्त्रणका चुनौती बारे आआफ्ना धारणा राख्नुभएको थियो ।