अन्तर्राष्ट्रिय |

'पार्टीभित्र निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहन्छ'

नयाँदिल्ली, भदौ १२ गते । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किँदैगएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन् ।
नेतृत्व चयन गर्न केही दिनअगाडि बसेको केन्द्रीय समितिको बैठक पनि अनिर्णित हुँदै सकिएपछि थप पार्टी भित्र निराशा बढेको पाइएको छ । पार्टीलाई तत्काल पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेको बताउँदै आउनुभएका वरिष्ठ नेता गुलाम नावी अजादले पार्टीमा तत्काल निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहने बताउनुभयो ।
असन्तुष्टि व्यक्त गर्दै पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई केही दिनपहिले पत्र लेख्ने नेताहरूमध्येका एक अजादले पार्टीभित्र तत्काल नेतृत्वको आवश्यकता रहेकोमा फेरि जोड दिनुभएको हो ।
निर्वाचित संरचना पार्टीमा बन्यो भने मात्रै त्यसले सङ्गठन निर्माण र परिचालन गर्न सक्ने र र निर्वाचनमा पनि राम्रो नतिजा उहाँको भनाइ छ ।
तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि भारतीय काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दैआएको छ । गत सोमबार बसेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्नुहुने भएको छ ।
नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने नेताहरूले बैठकमा बताएका थिए । भारतीय काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरूले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् भने उहाँले अस्वीकार गर्दै आउनुभएको छ । गएको आम निर्वाचनमा पार्टीलाई सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिँदै उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले दिएको राजीनामा केही समय अस्वीकृत हुदै उहाँलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहे पनि उहाँले अस्वीकार गरेपछि पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो ।
उहाँलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो ।