अन्तर्राष्ट्रिय |

भारतीय र चिनियाँ सेना पुनः आमुन्नेसामुन्ने

गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १५ गते । भारतीय र चिनियाँ सेना दुवै देशको सीमा जोड्ने पूर्वी लद्दाखमा फेरी आमुन्नेसामुन्ने भएका छन् । गत जुन १५ मा भारत र चीनबीच सीमा जोडिएको क्षेत्रमा विवाद हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो ।
भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतीय सेनालाई उद्धृत गर्दै पछिल्लो पटक २९ र ३० अगष्टको राति चिनियाँ सेना प्याङगोङ्ग छोको दक्षिणी तटमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको जनाएको छ । सोमबार बिहान भारतीय सेनाले सहमति अनुसारको यथास्थितिलाई चिनियाँ सेनाले परिवर्तन गर्न खोज्दा भारतीय सेनाले रोकेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ । गत मध्य जुलाइदेखि भारत र चिनियाँ सेनाबीच पूर्वी लद्दाखको विवादलाई लिएर विभिन्न चरणमा वार्ता हुँदै आएको छ । चीनले भने उक्त विवादबारे खुलाइसकेको छैन ।
सेनालाई उद्धृत गर्दै एक्सप्रेसले लेखेको छ, “जनमुक्ति सेनाले एकपक्षीय रुपमा जमीनी तथ्य परिवर्तन गर्न खोजेको छ ।” दुवै देशबीच प्योङगोङ छोको उत्तरी तटलाई लिएर विवाद हुँदै आएको छ । तर पछिल्लो पटक भने दक्षिणी तटमा विवाद देखिएको छ । भारत र चीनबीच चार हजार किलोमिटरको सीमा क्षेत्र रहेको छ ।