अन्तर्राष्ट्रिय |

फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

बग्दाद, भदौ १७ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुग्नुभएको छ । लेबनानको दुई दिने भ्रमणपछि उहाँ इराक आउनुभएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ ।
इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक आएकामध्ये म्याँक्रो नै सबैभन्दा वरिष्ठ पदाधिकारी हुनुहुन्छ । इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो ।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायत शीर्ष नेताहरूलाई भेट्ने अपेक्षा गरिएको छ ।
भेटवार्ताका क्रममा उहाँहरूका बीचमा आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक सङ्कट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायत विषयमा छलफल हुने बताइएको छ ।
लेबनान भ्रमणकै क्रममा पनि उहाँले आफू इराकको समेत भ्रमणको तयारीमा रहेको र त्यहाँँको भ्रमणका क्रममा शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने बताउनुभएको थियो । अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसङ्घले पनि समर्थन गरेको छ । तर अमेरिका र इराकका बीचमा भने तनाव थप बल्झिएको छ । इराकमा गत जनवरीमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो ।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेरिकासँगको सम्बन्ध सुधारका बारेमा पनि इराकी शीर्ष नेताहरूसँग छलफल गर्नुहुने अपेक्षा गरिएको छ ।