अन्तर्राष्ट्रिय |

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

बेइजिङ, भदौ १८ गते। कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरू आउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय विमानहरू आउन थालेको अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो । कोरोनाभाइरसको खतरा कम देखिएको निष्कर्ष निकाल्दै अधिकारीहरूले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् ।
बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् । चीनमा आउन लागेकाहरूलाई विमान प्रवेश गर्नुअघि कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रुपमा पाँच सयको हाराहारीमा यात्रुहरू आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए । चीनको राजधानी बेइजिङमा गत मार्चको शुरुवातदेखि नै सबै अन्तर्राष्ट्रिय विमान सेवाहरू बन्द गरिएको थियो ।