अन्तर्राष्ट्रिय |

जी २० का विदेशमन्त्रीहरूद्वारा आफ्ना सीमाहरू खोल्नुपर्नेमा जोड

रियाद
भदौ १९ गते। विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी २० का विदेशमन्त्रीहरूले आफ्ना सीमाहरूलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरूले आफ्ना सिमानाहरू खोल्नुपर्ने बताएका हुन् ।

बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरूले यस विषयमा जोड दिएका हुन् । हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले उनीहरूले यो आग्रह गरेका हुन् ।

त्यस बैठकका क्रममा उक्त संगठनका विदेशमन्त्रीहरूले देशका सीमाहरू खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरू अपनाएर सीमा खोल्नुपर्ने बताएका हुन् ।

सो बैठकमा सहभागी भारतका विदेशमन्त्री एस जयशंकरले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डहरू अपनाउनुका साथै स्तरीय परीक्षण विधिका बारेमा पनि छलफल भएको बताउनुभयो ।

उहाँले महामारीपछि जतिसक्दो चाँडो जि २० मा सहभागी देशहरूले आफ्ना देशमा सीमाहरू खोल्नुपर्नेमा सबैको एकमत रहेको बताउनुभयो । साउदी अरेबियाको पहलमा जि २० को भर्चुअल बैठकको आयोजना गरिएको थियो । शुक्रबार आयोजना गरिएको सो बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरूको सहभागिता थियो ।

सो बैठकमा सबै देशका विदेशमन्त्रीहरूले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका संक्रमितहरूको स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।