कोभिड-१९ को सङ्क्रमण नियन्त्रणबारे सोच्न जी २० लाई राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घ
भदौ १९ गते। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड-१९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्ने विषयमा सोच्न जी२० का सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ ।
उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरू ल्याउनका लागि पनि उहाँले ती देशहरूलाई आग्रह गर्नुभएको बताइएको छ । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरूले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताउनुभयो ।
विश्वका देशहरूले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरू अपनाएर यी समस्याको समाधान निकाल्न उहाँले सो आग्रह गर्नुभएको हो ।
महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उहाँले भन्नुभयो ।सोही बैठकमा उक्त सङ्गठनका विदेशमन्त्रीहरूले भने देशका सीमाहरू खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरू अपनाएर सीमा खोल्नुपर्ने बताएको समाचार जनाइएको छ ।
साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरूको सहभागिता थियो ।सो बैठकमा सबै देशका विदेशमन्त्रीहरूले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका विरुद्धमा मिलेर र समन्वय गरेर लड्नुपर्नेमा पनि जोड दिएका थिए ।