अन्तर्राष्ट्रिय |

मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, दर्जनौँ घाइते

ढाका, भदौ २० गते।
बंगलादेशको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौँ घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

उहाँका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुईं तलामा रहेको सबै आठ ओटै एयर कन्डिसनरमा आगलागी भएको बताएका छन् । घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरू प्रार्थनाका लागि आएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरूले जानकारी दिएका छन् ।