अफगान शान्ति वार्ताका प्रमुखद्धारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता
नयाँ दिल्ली, असोज २२ गते।
अफगानिस्तानको सरकार र यहाँ हिंसा गरिरहेका तालिबान सशस्त्र विद्रोहीहरुका बीचमा हाल जारी रहेको भनिएको शान्ति वार्ताका मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँले यस भेटका क्रममा उक्त शान्ति वार्ताप्रति भारतको थप प्रतिबद्धताको याचना गर्नुभएको बताइएको छ । बताइएअनुसार उहाँ बुधबार भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको हो ।सो कुरा भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिनुभएको हो । उहाँले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको हो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ, अफगानिस्तानको वर्तमान वार्ता टोलीका प्रमुख मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
सो भेटका क्रममा अब्दुल्लाहले हाल जारी रहेको भनिएको अफगानिस्तान सरकार र तालिबानीहरुका बीचको शान्ति वार्तामा भारतका तर्फबाट पनि प्रतिबद्धता खोज्नुभएको प्रवक्ता श्रीवास्तवले जानकारी दिनुभएको छ ।
प्रमुख मध्यस्थकर्ता अब्दुल्लाहले बुधबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो कुराको जानकारी पनि प्रवक्ता श्रीवास्तवले आज नै ट्वीटमार्फत् गराउनुभएको छ ।
बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार दोभालसँगको भेट राम्रो भएको उहाँले आजका भारीय सञ्चारमाध्यमहरुलाई बताउनुभएको थियो । त्यस्तै आज प्रधानमन्त्री मोदीसँगको भेटवार्ता पनि अफगान शान्ति वार्तामा केन्द्रित भएको र सो शान्ति वार्तालाई के कसरी सफल बनाउने भन्ने बारेमा नै सो भेटवार्ता केन्द्रित भएको उहाँले बताउनुभएको छ ।
केही हप्तायतादेखि कतारको दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ हिंसा गरिरहेका तालिबानी लडाकूका प्रतिनिधिहरुबीच वार्ता जारी रहेको बताइएको छ । सोही वार्तामा भारतको सहमति जुटाउनका लागि अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका अब्दुल्लाह अब्दुल्लाह आज भारतको भ्रमणमा जानुभएको हो ।