अन्तर्राष्ट्रिय |

कोरोनाभाइरसबाट सङ्क्रमित बुरुण्डीका पूर्व राष्ट्रपतिको निधन

नैरोबी, पुस ३ गते।
बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो । फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उहाँको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहनु भएका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिनुभएको थियो । सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उहाँले ठूलो योगदान गर्नु भएको श्रेय दिने गरिन्छ ।
अस्वस्थ भएपछि उहाँलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् । “हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,” उहाँका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीसँग भने ।
अर्को एक श्रोतले भन्यो, “उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उहाँको निधन भएको हुनसक्छ ।” उहाँले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आउनु भएको थियो ।
तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उहाँले राजीनामा दिनु भएको हो । तर उहाँले भने त्यस फैसलालाई राजनीतिक पुर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिदै आउनु भएको थियो । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उहाँले उल्लेख गर्नुभएको थियो ।