अस्पतालमा आगलागी हुँदा कम्तीमा नौको मृत्यु
अङकारा, टर्की, पुस ४ गते।
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक नीजि लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा नौ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताउनुभएको छ । कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ ।
गाजियनटेपको गभर्नर कार्यलयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष ९आइसीयू० मा भएको ग्यास विस्फोटका कारण नौ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य ११ जना सामान्य घाइते भएका जानकारी गराएको थियो । घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दावी गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालको आईसीयूमा शनिबार विहान अक्सिजन उत्पादन गर्ने मेसिन पड्किँदा केही व्यक्तिको मृत्यु भएको र अन्य केही घाइते भएका साथै अस्पतालको अक्सिजन आपूर्ति प्रणाली प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।