अन्तर्राष्ट्रिय |

बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित

ढाका, बङ्गलादेश, पुस ४ गते।
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबारसम्म करिब पाँच लाख पुगेको त्यहाँको सरकारले पुष्टि गरेको छ । शनिबार बङ्गलादेशमा थप सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २६७ रहेको र २५ व्यक्तिको मृत्यु भएको छ ।
बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अहिलेसम्म बङ्गलादेशमा चार लाख ९९ हजार ५६० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने सात हजार २४२ व्यक्तिको मृत्यु भएको छ । मुसलमान बहुल यस मुलुकमा विगत २४ घण्टामा १२ हजार ३०० सम्भावित व्यक्तिको नमूना परीक्षण गरिएकोमा करिब १० प्रतिशत सङ्क्रमित भेटिएका थिए ।
बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित चार लाख ३५ हजार ६०१ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने शनिबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९८७ रहेको महानिर्देशनालयले जनाएको छ । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये १।४५ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने अहिलेसम्म ८७।२० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।
बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने जुन ३० मा एकै दिनमा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको थियो ।