अन्तर्राष्ट्रिय |

श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्य तोकेर पर्यटक बोलाउने

कोलम्बो, पुस ६ गते।
श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर पर्यटक तान्ने अभियान चलाउने भएको छ । पर्यटक तान्नका लागि अहिले पर्यटकीय क्षेत्रहरूको पहिचान गर्ने गृहकार्य भइरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
नयाँ पर्यटकीय क्षेत्रहरू तोकेर पर्यटक तान्ने अभियान चलाएपछि सामाजिक तथा आर्थिक क्षेत्रलाई बलियो बनाउन तथा चलायमान गराउन सजिलो हुने अपेक्षा गरिएको छ । सरकारी अधिकारीहरूले देशभरी मुख्यगरी झण्डै १५ वटा पर्यटन क्षेत्र तोक्ने तयारी भइरहेको बताएका छन् ।
पर्यटन क्षेत्रको विकास गर्न र पर्यटकलाई तान्नका लागि श्रीलङ्का पर्यटन विकास प्राधिकरणले विषेश व्याकेज तथा योजनाहरूसमेत ल्याउने तयारी गरेको छ । श्रीलङ्काले अर्को महिना सबै अन्तर्राष्ट्रिय उडानहरू खुल्ला गर्ने गृहकार्य गरेको छ । तर उडान र पर्यटकीय क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि अपनाउनु पर्ने सतर्कता र मापदण्डलाई भने ध्यान दिइने भएको छ ।
स्वास्थ्य निर्देशिकालाई पालना गराउँदै आवतजावत र घुमघाम गर्न सकिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले जनाएका छन् । श्रीलङ्कामा गत वर्ष सन् २०१९ को अन्त्यसम्ममा १९ लाख १ हजार पर्यटक भित्रिएका थिए भने यस वर्ष अत्यधिक कमी भएको छ । यस वर्ष दश महिनामा झण्डै पाँच लाख सात हजार पर्यटक आएका छन् ।