अन्तर्राष्ट्रिय |

विद्यालय खुलेपछि खुशी छन् केन्याली

नैरोबी, पुस २० गते।
कोरोनाभाइरस महामारीको कारण १० महिना अगाडि बन्द भएका विद्यालय सोमबार खुलेपछि केन्याका लाखौं विद्यार्थी पहिलो पटक विद्यालयमा उपस्थित भै शिक्षा आर्जन गरेका छन् ।
विद्यार्थीहरूले विद्यालय फर्किंदा पहिलेजस्तो कुनै अवरोधविना कक्षामा भने पुग्न सकेनन् उनीहरूलाई विद्यालय छिर्नु पहिले सामाजिक दूरी कायम गर्ने, तापक्रम जाँच गर्ने तथा सुरक्षाका लागि मुखमा मास्क लगाउन निर्देशन गरिएको थियो ।
लामो समयपछि आफ्ना साथीहरूसँग विद्यालयमा भेट भएका विद्यार्थी कोभिड–१९ को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्छ भन्नेमा सचेत देखिएका छन् । लामो समय विद्यालय बन्द भएका कारण आफ्नो शैक्षिक सत्र गुम्ने हो कि भनी चिन्तित रहेका बालबालिका र उनीहरूका अभिभावकले विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाउन पाएकोमा खुशीसँगै भय पनि व्यक्त गरेका पाइएको छ । सरकारले देशभर विद्यालय खोल्नेगरी गरेको निर्णयबाट बालबालिका र अभिभावकले राहत महशुस गरेको देखिन्थे ।
“अभिभावकका रूपमा म खुशी छु किनकि बच्चाहरू विद्यालयमा फर्किए,” एक विद्यार्थीकी अविभावक हिल्दा मुसिम्बीले भन्नुभयो । उहाँले थप्नुभयो, “यतिवेला हामी धेरै डरले ग्रस्त भएका छौं किनकि हामीलाई थाहा छैन कि विदालयका अन्य बच्चाहरूलाई भाइरस सङ्क्रमण छ कि छैन वा शिक्षकहरूलाई भाइरस छ कि छैन, वा विद्यालयमा सहयोगी कर्मचारीले पनि भाइरस परीक्षण गराएका छन् कि छैनन् ।” उहाँले भन्नुभयो, “प्रशासनले बन्द विद्यालयलाई खोल्ने निर्णय सकारात्मक छ तर विद्यार्थीको स्वास्थ्यबारे बढी सम्वेदनशील हुनु पनि जरुरी हुनेछ ।”
केन्याले मार्च २०२० देखि महामारीका कारण विद्यालयहरू बन्द गरेको थियो । कोरोनाभाइरस सङ्क्रमित व्यक्ति भेटिन थालेपछि बन्द विद्यालयलाई आंशिक रूपमा अक्टोबरमा कक्षा सञ्चालन गरिएको थियो । सरकारको विद्यालय खोल्ने निर्णयसँगै सबै प्राथमिक र उच्च माध्यमिक विद्यार्थी सोमबार फर्किए भने विश्वविद्यालय र कलेजहरू खोल्न प्रशासनले उनीहरूलाई मार्ग प्रशस्त गरेको छ ।
“हामी विद्यालयमा फर्कंदा खुसी छौं, त्यो लामो विदा थियो,” नैरोबीको कासारानी प्राथमिक विद्यालयका विद्यार्थी मर्सी नेडेरीले भने । भीडको कक्षा कोठामा सामाजिक दूरी कायम गर्न सङ््घर्ष गर्दै शिक्षकहरूले फेसमास्क नलगाएको विद्यार्थीहरूलाई घर फर्काएका देखिन्थे भने विद्यालयमा एक व्यक्तिदेखि अर्को व्यक्तिको दूरी कायम गर्न शिक्षक तथा कर्मचारीहरू व्यस्थ थिए ।
“यो गाह्रो छ किनकि हामीसँग बच्चाहरू एक अर्कादेखि टाढा राख्नका लागि पर्याप्त डेस्क छैन तर हामी यथाशक्य कोशिश गरिरहेका छौं,” भोई प्राइमरी विद्यालयका प्रधानाध्यपक मभुर्य मुम्बियाले भन्नुभयो ।
अक्टोबरमा जब विद्यालयहरू आंशिक रूपमा पुनः सञ्चालनमा आएपनि शहरी र प्रभावित क्षेत्रमा विद्यार्थीहरू र शिक्षकहरू आफै बिरामी परेका र सङ्क्रमण फैलिने डरमा अनलाइन कक्षा सञ्चालन गरिएको थियो । तर यो गरीब अफ्रिकी मुलुकमा प्रविधिका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेका थिएनन् ।
केन्यामा प्रकोप सुरु भएदेखि करिब एक लाख कोभिड–१९ सङ्क्रमित बनेका थिए भने एक हजार ६०० व्यक्तिको मृत्यु भएको थियो । अक्टोबरपछि सङ्क्रमण दरमा २० प्रतिशतले कमी आएको छ । स्वास्थमन्त्रीले अभिभावकले बच्चाहरूलाई ढुक्क भएर विद्यालय पठाउन अनुरोध गर्नुभएको छ । “हामीले पर्याप्त सुरक्षा उपायहरू अपनाएका छौं उनीहरूको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिन्छ ।” कोभिड–१९ विरुद्धको खोप पनि छिट्टै सर्वसाधारणका लागि उपलब्ध गराइने स्वास्थ्यमन्त्रीले बताउनुभयो ।
राष्ट्रपति उहुरु केन्याट्टाले यस साताको अन्त्यमा देशमा स्वास्थ्य समस्याका कारण जारी निशेधाज्ञालाई आगामी मार्च १२सम्मका लागि राति १० बजेदेखि बिहान चार बजेसम्म बढाइएको जानकारी गराउनुभएको थियो । केन्यालीहरू गत वर्ष मार्च २५ देखि रातको समय निशेधाज्ञाको पालना गर्दै आएका छन् ।