अन्तर्राष्ट्रिय |

पूर्वी अफगानिस्तानमा नौ जना तालिबानी लडाकू मारिए

काबुल, जेठ १६ गते। युद्धग्रस्त अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् ।
प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।
विज्ञप्तिमा आइतबार बिहान अलिसिङ जिल्लाको नाजिल गाउँमा सेनाले गरेको कारबाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ कुनै क्षति नभएको जनाइएको छ ।
राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुने गरेको छ । तालिबानीले लघमनको मेहतारलाम शहर कब्जा गर्न प्रयास गरिरहेका छन् तर सरकारी फौजलाई त्यसलाई असफल तुल्याउँदै आएको छ ।
तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।