अन्तर्राष्ट्रिय |

नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने

ब्रसेल्स, जेठ १९ गते।
उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् । अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए । तर ती देशले काबुलबाट आफ्ना देशका सेना फिर्ता लैजाने निर्णय गरिसकेका छन् ।
सेना फिर्ता लगे पनि अफगानिस्तानमा शान्तिका लागि गर्दै आएको सहयोगका कामलाई नेटोले निरन्तरता दिने जनाएको बताइएको छ । नेटो संगठनका महासचिव जेन्स स्टोल्टेनबर्गले मंगलबार उक्त जानकारी दिनुभएको बताइएको छ ।
नेटोका रक्षा मन्त्रीहरुको भर्चुअल बैठक सकिएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महासचिव जेन्स स्टोल्टेनबर्गले सो कुराको जानकारी दिनुभएको हो । सो पत्रकार सम्मेलनमा उहाँले नेटो देशहरुले अफगानिस्तानको सुरक्षाका लागि विगत लामो समयदेखि नेटो राष्ट्रहरुले गरिआएको सहयोगको स्मरण गर्नुभएको थियो ।
त्यसपछि उहाँले अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा नेटोले पनि आवश्यक सहयोग गर्ने जानकारी दिनुभएको थियो । उहाँले त्यस पत्रकार सम्मेलनमा भन्नुभएको थियो– हामीले अफगानिस्तानमा सैन्य मिसनको अन्त्य गर्न लागेका हौँ तर पनि हामीले अफगानिस्तानलाई गर्ने अरु खाले सहयोगको अन्त्य भने गर्न लागेका होइनौँ ।
उहाँका अनुसार अफगानिस्तानको काबुलमा रहेका नेटो देशका सेनाहरु अब फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ ।त्यसबमोजिम अब नेटोका देशहरुले सेना फिर्ता गर्ने प्रक्रियाको थालनी गरिसकेका अमेरिका र नेटोआबद्ध देशहरुले जनाएका छन् ।
अफगान सरकार र तालिबान विद्रोहीहरुबीचको वार्ताका क्रममा तालिबानहरुले अफगानिस्तानबाट नेटोसहित अमेरिकी सेनालाई फिर्ता गर्नुपर्ने माग गरेका थिए । उनीहरुको सो मागपछि अफगान सरकार र अमेरिका पनि नेटो सेना फिर्तागर्न सहमत भएको जनाइएको थियो ।