अन्तर्राष्ट्रिय |

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

लण्डन, जेठ २० गते।
अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।
बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ ।”
अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उहाँले बेलायती महारानीलाई भेट्नुहुने भएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ ।
सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।