अन्तर्राष्ट्रिय |

अमेरिकी विशेषदूत अफगानिस्तान र कतार भ्रमणमा

वासिङ्टन, जेठ २३ गते। अफगानिस्तानमा पुनर्मिलनका लागि अमेरिकाका विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणमा निस्कनु भएको छ ।
अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि कतारको पनि ठूलो भूमिका हुने र विगतमा पनि कतारमा महत्वपूर्ण वार्ताहरु हुने गरेकाले विशेषदूत खलिलजादले ती दुवै देशको भ्रमण गर्न लाग्नु भएको हो ।
उहाँसँगै उहाँकै नेतृत्वमा विशेष प्रतिनिधिमण्डल पनि भ्रमणका लागि शुक्रबार अमेरिकाबाट प्रस्थान गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
प्रतिनिधिमण्डलमा अमेरिकी गृह प्रशासनका उच्च अधिकारीहरु, कुटनीतिक अधिकारी, रक्षा अधिकारी र युएसएआइडीका प्रतिनिधि लगायत रहेका छन् ।
प्रतिनिधिमण्डलले अफगानिस्तानको सरकारी उच्च अधिकारीहरुलाई राजधानी काबुलमा भेट्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी अन्य राजनीतिक दलका नेताहरु, नागरिक अगुवा, महिला अधिकारकर्मीलगायत सरोकारवालाहरुसँग पनि प्रतिनिधिमण्डलले छलफल गर्ने जनाइएको छ ।
टोलीले अगफानिस्तानमा द्वन्द्वरत पक्षहरुलाई वार्ताको माध्यमबाट सम्झौतामा लैजाने र देशमा शान्ति कायम गर्न प्रयास गर्ने भएको छ ।
राजनीतिक समस्या समाधान गर्ने मुल उद्देश्यका साथ अफगानिस्तान र कतार प्रस्थान गरेको टोलीले द्वन्द्वरत दुवै पक्षसँग छलफल गर्ने भएको छ ।
अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ भने द्वन्द्वका कारण हजारौंको मृत्यु र लाखौं विस्थापित भएका छन् ।