अन्तर्राष्ट्रिय |

चिनियाँ नागरिकलाई रुस प्रवेश अनुमति दिने तयारी

मस्को, असार ५ गते।
महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ । रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिनुभयो ।
रुसले गत सन् २०२० को फेब्रअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो । विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्ने समेत उपप्रधानमन्त्री गोलिकोभाले जानकारी दिनुभयो ।
कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्यून हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवतजावत गर्न दिने तयारी भएको हो । सुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुल्ला गर्ने र त्यस्ता देशहरुको सङ्ख्या बढाउँदै लगिने पनि उहाँले बताउनुभयो ।