अन्तर्राष्ट्रिय | खेलकुद |

‘मेजर ध्यान चन्द खेल रत्न पुरस्कार घोषणा’

नयाँ दिल्ली, भारत, साउन २२ गते।
पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ । ‘खेल रत्न पुरस्कार’ लाई मेजर ध्यानचन्द खेल रत्न पुरस्कारमा रूपान्तरण गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार घोषणा गर्नुभएको हो ।

पुरस्कारबारे ट्वीटरमा प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “मलाई भारतभरका नागरिकबाट मेजर धयान चन्दको नाममा ‘खेल रत्न पुरस्कार’ नाम घोषणा गर्न धेरै अनुरोधहरू आएका छन् । उनीहरूको खेलप्रतिको माया र उचित दृष्टिकोणको लागि म सबैलार्ई धन्यवाद दिन चाहन्छु ।”

“खेलप्रेमी सबै भारतीयको भावनालाई सम्मान गर्दै खेल रत्न पुरस्कारलाई अबदेखि मेजर ध्यान चन्द खेल रत्न पुरस्कार भनिनेछ,” सन्देशमा भनिएको छ ।

उहाँले थप्नुभयो, “मेजर ध्यानचन्द भारतका लागि सम्मान र गौरव ल्याउने भारतका अग्रज खेलाडीमध्ये एक हुनुहुन्थ्यो । त्यसैले हाम्रो राष्ट्रको सबैभन्दा उच्च सम्मान उहाँकै नामले चिनिनु उपयुक्त छ ।”
ओलम्पिक खेलमा ४१ वर्षपछि भारतीय पुरुष हक्की टोलीले काँस्य पदक जितेको एक दिनपछि यस्तो निर्णय आएको हो । ध्यान चन्द आफ्नो जादुयी हक्की खेल कौशलका लागि प्रसिद्ध हक्की खेलाडी हुनुहुन्थ्यो ।

उहाँ सन् १९२८, १९३२ र १९३६ को ओलम्पिकमा स्वर्ण पदक दिलाउने भारतीय हक्की टोलीका सदस्य हुनुहुन्थ्यो । भारतले प्रसिद्ध हक्की खेलाडी ध्यान चन्दको जन्म जयन्तीको उपलक्ष्यमा अगस्ट २९ लाई राष्ट्रिय खेलकुद दिवसका रूपमा मनाउने गरेको छ ।