अन्तर्राष्ट्रिय |

भारतमा एकैदिन ३८ हजार सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । भारतमा गएको चौबीस घण्टामा ३८ हजार ३५३ जना सङ्क्रमित थपिएका छन् । भारतमा हाल तीन लाख ८६ हजार ३५१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित गएको १४० दिन यताकै सबैभन्दा कम भएको हो ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ४० हजार १३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना निको भइसकेका छन् । गएको चौबीस घण्टामा प्रति एक सय नमुना परीक्षणमा २.१६ मा सङ्क्रमणको पुष्टि भएको छ । मङ्गलाबार चौबीस घण्टामा १७ लाख ७७ हजार ९६२ नमुना परीक्षण गरिएको छ ।