अन्तर्राष्ट्रिय |

अशरफ घानी राष्ट्रपति रहुञ्जेल तालिबानले वार्ता गर्दैन– पाकिस्तानका प्रधानमन्त्री

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अशरफ घानी राष्ट्रपति रहुञ्जेल तालिबान वार्तामा नआउने टिप्पणी गर्नुभएको छ । इस्लामाबादमा विदेशी सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले उक्त धारणा राख्नुभएको हो ।
प्रधानमन्त्री खानले वर्तमान परिस्थितिमा राजनीतिक समाधान निस्किन समस्या हुने बताउनुभयो । द न्यूज इन्टरनेशनलले प्रधानमन्त्री खानलाई उद्धृत गर्दै लेखेको छ,“मैले तालिबान तीन चार महिना अघि पाकिस्तान आउँदा आश्वस्त तुल्याउन खोजेको थिएँ, तर घानी राष्ट्रपति रहुञ्जेल सरकारसँग वार्ता नगर्ने उनीहरुले शर्त राखे ।”
अफगान सरकारले इस्लामाबादले अफगानिस्तानमा अस्थिरता निम्ताएको भन्दै आलोचना गर्दै आएको छ । अफगान सरकारले तालिबानलाई पाकिस्तानले सघाउँदै आएको र जसले गर्दा हिंसा उत्कर्षमा पुगेको आरोप लगाउँदै आएको छ ।