नेताको आवासमाथि ग्रेनेड आक्रमण, चार वर्षीय बालकको मृत्यु
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । भारत प्रशासित काश्मिरको रजौरीमा आतङ्कवादी आक्रमणमा एक चार वर्षीय बालकको मृत्यु भएको छ । उक्त आक्रमणमा अन्य सात जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु काश्मिरको रजौरी जिल्लाको खण्डाली चौकस्थित भारतीय जनता पार्टीका जसबिर सिंहको घरमाथि गए राति ग्रेनेडले आक्रमण गरिएको थियो । आक्रमणमा घाइते भइ मृत्यु भएका बालक नेता सिंहका भतिज थिए । अन्य सात जना उहाँका आफन्त हुनुहुन्छ ।
एएनआईले जिल्लाका प्रहरी उप कमीश्नर राजेशकुमार सावनलाई उद्धृत गर्दै बिहीबार राति नौ बजेतिर आक्रमण भएको उल्लेख गरेको छ । उहाँले आक्रमणको कारणबारे अनुसन्धान भइरहेको बताउनुभएको छ ।