अन्तर्राष्ट्रिय |

चीनको हुबे प्रान्तमा बाढीमा २१ जनाको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । चीनको हुबे प्रान्तमा बाढीको प्रकोपमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । चार जना अझै हराइरहेको बताइएको छ ।
मध्य चीनको हुबे प्रान्तको सुई काउन्टीमा बाढीले मानवीयसँगै भौतिक क्षति भएको एएनआईले जनाएको छ । प्रारम्भिक छानबिन बमोजिम सुइ काउन्टीको लिउलिन शहर क्षेत्रमा बाढी जाँदा आठ हजार जना प्रभावित भएको र २१ जनाको मृत्यु भएको हो । लिउलिनमा बिहान नौ बजेसम्म ५३० मिलिमिटर वर्षा भएको जनाइएको छ ।
बाढीले भएको क्षति सम्बन्धमा अझै अनुमान गरिएको छैन । यद्यपि कम्तीमा २२१ भवन पूर्ण रुपमा ध्वस्त भएका छन् । ११ किलोमिटर बाटो सखाप भएको छ । केही गाउँमा विद्युत् आपूर्ति कटौती गरिएको छ ।
गएको दुई दिनमा बाढीमा जियाङ्ग्याङ, सुईझौ, जिओगन शहरमा दुई लाख ८६ हजार जना प्रभावित भएका छन् । सात हजार जना विस्थापित भएका छन् । चीनको आकस्मिक मन्त्रालयले हुबे प्रान्तका पाँच शहरमा ‘रेड एलर्ट’ जारी गरेको छ ।