बेलायतमा गोली प्रहारबाट छ जनाको मृत्यु
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । बेलायतको प्लाइमाउथमा भएको गोली प्रहार घटनामा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा गोली प्रहारमा संलग्न ब्यक्तिको समेत मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
डेभोन र कोर्नवाल प्रहरीका अनुसार मृत्यु हुनेमा तीन महिला, दुई पुरुष र एक सम्भावित आक्रमणकारी छन् । प्लाइमाउथ शहरको केहम क्षेत्रमा उक्त घटना भएको हो । मृत्यु हुनेमा एक जना दश वर्षीय बालकसमेत रहेको बताउँदै प्रहरीले घटना आतङ्कवादी आक्रमणसँग सम्बन्धित नभएको प्रष्ट्याएको छ ।
गएको एक दशकमा बेलायतमा यो हालसम्मकै सबैभन्दा ठूलो सामूहिक हत्याकाण्ड हो । स्थानीय प्रत्यक्षदर्शीले तीन जनाले गोली प्रहार गर्न सुरु गरेको बताएका छन् । एक घरको ढोका फोड्दै अज्ञात ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्न सुरु गरेको नाम नखुलाउने शर्तमा एक प्रत्यक्षदर्शीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बेलायतमा यसअघि सन् २०१० मा एक जना ट्याक्सी चालक डेरिक बर्डले अन्धाधुन्ध गोली प्रहार गर्दा १२ जनाको मृत्यु भएको थियो ।