युद्ध नायकलाई तालिबानले नियन्त्रणमा लियो
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । मुजाहिद्दीनका पूर्ब नेता एवम् जमात ए इस्लामी दलका वरिष्ठ सदस्य इस्माइल खानलाई तालिबानले नियन्त्रणमा लिएको छ । उहाँसहित केही सरकारी अधिकारीलाई तालिबानले शुक्रबार कब्जामा लिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ । सन् २००१ मा तालिबान बिरुद्ध लड्न अमेरिकालाई सघाएर उल्लेख्य योगदान गरेपछि उहाँलाई अफगानिस्तानमा युद्ध नायकको संज्ञा दिइएको छ ।
तालिबानले अफगानिस्तानको तेस्रो सबैभन्दा ठूलो शहर हेरात कब्जा गरेपछि खानसहित सरकारी अधिकारीहरु नियन्त्रणमा पुगेका हुन । टोलो न्यूजले एक ट्वीटमा प्रान्तका गर्भनर, प्रहरी प्रमुख, मुजाहिद्दीनका पूर्ब नेता इस्माइल खान, राज्यको उप आन्तरिक मामिला मन्त्री तथा २०७ जाफर कोर्पस कमाण्डरले तालिबान समक्ष आत्मसमपर्ण गरेको उल्लेख गरेको छ ।
युद्ध नायक खानले तालिबान बिरुद्ध सैकडौं हतियारसहितका सर्वसाधारण परिचालन गर्नुभएको थियो । गएको महिना तालिबान कान्धारतर्फ अघि बढ्दा खानले बिद्रोही समूह बिरुद्ध नागरिकलाई हतियारसहित सडकमा उत्रिन आव्हान गर्नुभएको थियो ।