अन्तर्राष्ट्रिय |

हाइटी भूकम्पमा कम्तीमा ३०४ को मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते। हाइटीमा शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । करिब एक हजार ८०० जना घाइते भएका छन् ।
शनिबार बिहान पश्चिमी हाइटीमा ७.२ रिक्टेर स्केलको भूकम्प गएको थियो । भूकम्पमा होटेल, भवन तथा चर्चसमेत नष्ट भएको छ । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले अत्यन्तै धेरै नाश भएको बताउनुहुँदै एक महिना लामो आपतकालको घोषणा गर्नुभएको छ । उहाँले उद्धारको काम सुरु गरिएको बताउनुभएको छ । भूकम्पले काएस शहरमा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ । भूकम्प लगत्तै प्रधानमन्त्री हेनरी काएस शहर प्रस्थान गर्नुभएको छ ।
हाइटी सन् २०१० को भूकम्पले गरेको क्षतिबाट अझै राम्ररी उठ्न सकेको छैन।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार शनिबार गएको भूकम्पको केन्द्र सैन्ट लुई डु सुड शहरभन्दा १२ किलोमिटर टाढा मापन गरिएको छ । भूकम्पको पराकम्पन्न हाइटीबाट करिब १२५ किलोमिटरको दूरीमा रहेको घना जनसङ्ख्या रहेको पोर्ट अफ प्रिन्समा समेत महसुस गरिएको छ ।