अन्तर्राष्ट्रिय |

दश हजार सेना अटाउने क्षमताको बघराम हवाई अड्डा तालिबानले नियन्त्रणमा लियो

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते । तालिबानले अफगानिस्तानको राजधानी काबुलसँग जोडिएको बघराम हवाई अड्डा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त हवाई अड्डा गएको बीस वर्षसम्म तालिबान र अलकायदाविरुद्ध हवाई आक्रमण गर्न उडान भर्ने प्रमुख केन्द्र बनेको थियो । तर गत महिना अमेरिकी सेनाले अफगानलाई कुनै सूचना नै नदिई उक्त हवाई अड्डा छोडेर अमेरिका प्रस्थान गरेको थियो ।
अमेरिका नेतृत्वको गठबन्धन सेना सन् २००१ को डिसेम्बरमा अफगानिस्तानमा अवतरण गरेको थियो । बघराम हवाई अड्डालाई दश हजार सेना अटाउने गरी विकास गरिएको थियो । अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुश, बाराक ओबामा र डोनाल्ड ट्रम्प आआफ्नो कार्यकालमा बघराम हवाई अड्डाको भ्रमण गर्नुभएको थियो ।
बघराम हवाई अड्डामा एक कारागारसमेत  छ । जसमा कम्तीमा पाँच हजार तालिबान बन्दी बनाइएको थियो । तालिबानले ती सबैलाई मुक्त गरिएको जनाएको छ । अमेरिकाले निर्माण गरी सञ्चालनमा ल्याएको उक्त हवाई अड्डा सन् २०१३ मा अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको थियो ।