अन्तर्राष्ट्रिय |

भारतीय राजदूतसहित १७० जना फिर्ता आए

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १ गते । भारतीय वायु सेनाले अफगानिस्तानमा रहेको १७० जना भारतीय नागरिकलाई विशेष विमानबाट फित्र्ता ल्याएको छ । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि कुटनीतिज्ञ तथा अफगानिस्तानमा कार्यरत विदेशी कामदार र आम नागरिक समेत बाहिरिन हतार गरेका छन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा भारतीय राजदूत रुद्रेन्द्र टण्डनले अफगानिस्तानमा रहेको भारतीय मिशनका करिब दुई सय जना र एक सय सर्वसाधारण गरी तीन दिनमा तीन सय जना फित्र्ता आएको बताउनुभएको छ । टन्डनले भन्नुभयो, “घर फर्केको आनन्द नै छुट्टै महसुस गरेको छु, हामी सुरक्षित रुपमा घर फर्केका छौं ।”
रोयटर्ससँगको कुराकानीमा उहाँले अफगानिस्तानको वर्तमान अवस्था तरल रहेको बताउनुहुँदै अझै केही भारतीय ल्याउन बाँकी रहेकोमा अधिकारीहरु ल्याउने बन्दोबस्ती गरिरहेको जानकारी दिनुभयो ।
जामनगर विमानस्थलमा अवतरण गरेको विमान इन्धन भरेपछि नयाँ दिल्ली पुग्नेछ ।