अन्तर्राष्ट्रिय |

भारतमा एकैदिन करिब ९० लाखलाई खोप लगाइयो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १ गते । भारतले एकैदिनमा करिब ८८ लाख जनालाई कोभिड १९ बिरुद्धको खोप लगाएको छ । भारतले डिसेम्बर महिनासम्म सबै वयस्कलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।
भारतमा सोमबार चौबीस घण्टामा गत् मार्च महिना यताकै सबैभन्दा कम सङ्क्रमितको पुष्टि भएको छ । सोमबार २५ हजार १६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यसअघि मार्च १६ मा २६ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको थियो ।
भारतमा हालसम्म ५५ करोड ४० लाख डोज खोप लगाइएको छ । करिब ४६ प्रतिशत जनसंख्याले कम्तिमा एक डोज खोप लगाएका छन् । भारतमा खोप लगाउन सक्षम करिब ९४ करोड ४० लाख ब्यक्ति रहेको अनुमान गरिएको छ । गत् जनवरी महिनामा भारतले खोप अभियान सुरु गरेको थियो । हालसम्म मात्र १३ प्रतिशतले कोभिड १९ बिरुद्धको खोपको दुबै मात्रा लगाएका छन् ।
गत् जुन महिनामा भारतले हालसम्मकै सबैभन्दा बढी एकैदिनमा ९२ लाख डोज खोप लगाएको थियो । तर त्यसयता दैनिक खोप लगाउनेको संख्यामा ह्रास आइ औसत ४२ लाखमा झरेको थियो ।