अन्तर्राष्ट्रिय |

जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका जोखिममा

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, भदौ ४ गते।
विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका युनिसेफले शुक्रबार बताएको छ । मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा रहेका बताइएको छ । “जलवायु सङ्कटले बाल अधिकारलाई पनि सङ्कटमा पारेको छ । ‘जलवायु परिवर्तनका कारण बालबालिकामा जोखिम सूचकांकको परिचय’ शीर्षकमा गरिएको अध्ययनमा युनिसेफले आफ्नो युवा जनसंख्याको जलवायु र वातावरणीय प्रभावको आधारमा देशहरूलाई स्थान दिंदै बालबालिकाको दृष्टिकोणबाट जलवायु जोखिमको पहिलो व्यापक विश्लेषण गरेको बताएको छ ।
युनिसेफले भनेको छ, “विश्वका दुई अर्ब बीस करोड बालबालिकामध्ये झन्डै एक अरब केटाकेटी ’अत्यन्तै जोखिमपूर्ण’ भनी वर्गीकृत ३३ देशहरूमा बसोबास गर्छन् । यस अध्ययनमा विचार गरिएका खतराहरूमा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सीसा प्रदूषण र संक्रामक रोगहरू समावेश छन् । “जलवायु र वातावरणीय प्रभाबले स्वच्छ हावा, भोजन र सुरक्षित पानीको पहुँचदेखि लिएर शिक्षा, आवास, शोषणबाट स्वतन्त्रता र बाँच्न पाउने तिनीहरूको अधिकारलाई समेत बालबालिकाको अधिकारको पूर्ण क्षेत्रलाई कमजोर बनाइरहेको छ । युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो, “बास्तबमा कुनै पनि बच्चाको जीवनमा असर नपर्ने सम्भावना छैन । संयुक्त राष्ट्र संघीय यस निकायले सरकार तथा अन्य सम्बन्धित निकायहरूलाई बालबालिकाका लागि जलवायु अनुकूलन र लचीलापनमा बढी लगानी गर्न, सन् २०३० सम्ममा हरितगृह ग्याँस उत्सर्जनलाई कम्तीमा ४५ प्रतिशतले कम गर्न, जागरूकता बढाउन, युवाहरूलाई जलवायु परिवर्तन नीति निर्माणमा संलग्न गर्न र कोभिड–१९को प्रभाब कम भएको सुनिश्चित गर्न आह्वान गरेको छ ।